
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनको नेतृत्वमा नवप्रवर्तनका लागि आन्दोलन शुरु हुने भएको छ।
अध्यक्ष पुनले बिहिबार सामाजिक सञ्जालमा पोष्ट गर्दै अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि आवश्यक नीति नियम बनाउन नेपाल सरकारसँग ठोस माग सहित आन्दोलन शुरु गर्ने बताएका थिए।
उनले आज शुक्रबारदेखि सडकमा धर्ना बसेर आन्दोलन सुरु गर्ने बताएका छन्। उनको नेतृत्वमा माइतीघर मण्डला, बबरमहल क्षेत्रमा आज बिहान ९ बजे देखि धर्ना सुरु हुने भएको हो।
यसअघि उनले कुन सडकमा कसरी धर्ना बस्ने भन्ने खाकासमेत दिएका थिए।
बिहिबार ट्विटरमा लेख्दै उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको आन्दोलनमा स्व-इच्छाले भाग लिन आव्हान गरेका छन्। उक्त आन्दोलनमा सहभागी हुन चाहनेहरुले प्लेकार्ड, ब्यानर र पर्चा आफैँले बनाएर ल्याउन समेत भनेका छन्।
अनुसन्धान, नबप्रबर्तन र आविष्कारको आन्दोलनमा स्व-इच्छाले भाग लिन चाहनेहरुले प्लेकार्ड, ब्यानर र पर्चा आफैले बनाएर ल्याउनु होला भन्ने अनुरोध छ । स्थान: माइतीघर मण्डला, बबर महल क्षेत्र, बिहान ९ बजे देखि धर्ना सुरु — pic.twitter.com/2i34iFy7O1
— Mahabir Pun (@MahabirPun) April 27, 2023
उनले आन्दोलन र धर्नामार्फत अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष” खडा गर्न, अनुसन्धान र नवप्रबर्तनको लागि हरेक वर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याउन, स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउन, यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था गर्ने लगायतका मागहरु राखेका छन्।
प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार