नेपाल टेलिकमको हात्तिगौंडा एक्सचेञ्ज पूर्णरुपले अप्टिकल फाइबर नेटवर्कमा

  • Technology Khabar | १४ बैशाख २०८०, बिहीबार

काठमाडौं ।

नेपाल टेलिकमले काठमाडौको हात्तिगौंडास्थित पुरानो प्रविधिको तामाको तारवाला टेलिफोन एक्सचेन्जलाई अत्याधुनिक अप्टिकल फाइबर नेटवर्कमा प्रतिस्थापन गर्ने कार्य सम्पन्न गरेको छ।

गत चैत २९ गते पुरानो प्रविधिको तारवाला टेलिफोन र इन्टरनेट प्रविधिको नेटवर्कलाई पूर्णरुपले अत्याधुनिक अप्टिकल फाइबर नेटवर्कमा प्रतिस्थापन कार्य गरिएको जनाएको छ।

सम्पन्न सो एक्सचेञ्ज अन्तर्गतका सम्पूर्ण टेलिफोन र डाटा प्रयोगकर्ताहरुले अब अत्याधुनिक प्रविधिको फाइबर नेटवर्कबाट सञ्चालित तीव्र गतिको इन्टरनेट सेवा, गुणस्तरीय आवाजसहितको टेलिफोन सेवा र टेलिभिजन सेवासमेत एउटै केवलबाट प्रयोग गर्न सक्नेछन् ।

पूर्णरूपले नेटवर्क प्रतिस्थापन कार्यको घोषणा गर्न आयोजित कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक राधाकृष्ण ढुंगेल र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक सविना प्रधानले तामाको तारवाला नेटवर्कको स्विचअफ गरेका थिए।

कार्यक्रममा सम्बन्धित लेखा कार्यालय दूरसंचार कार्यालय गोंगबुका कार्यालय प्रमुख उप-प्रबन्धक निर्मल घिमिरेका साथै उप-प्रबन्धकहरु नारायण प्रसाद काफ्ले, अनुराधा शर्मा, सीताशरण दत्त लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

पुरानो तामाको तारवाला प्रविधिवाट अत्याधुनिक अप्टिकल फाइबर नेटवर्कमा पूर्णरुपले प्रतिस्थापन कार्य सम्पन्न भएको काठमाडौ उपत्यकाकै हात्तिगौंडा पहिलो एक्सचेञ्ज हो।

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार