
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले काठमाडौंका सबै ठाउँमा सीसी क्यामराको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसी क्यामरा जडान गर्नुपर्ने बताएका हुन्।
बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनदाहडै हत्या भएको सात दिन बित्न लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोशसमेत व्यक्त गरे।
‘छुरी प्रहार गरेर दिन दहाडै हत्या भएको सात दिनभयो। प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ। तर उहाँहरुले ठोस जवाफ पाउनु भएको छैन। आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ। म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत् घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ। यसको बारेमा विश्वास गर्न गर्न माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस्। उनले भने, ‘महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंलाई यसको सेक्युरिटीसँग जोडेर सिसीटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लगाई सकेको हुन्थ्यो।’
अहिले फरक फरक वडाले सामान्यरुपमा सीसीटिभी जडान गर्ने गरेको भन्दै त्यसले समाधान नहुने बताए।
महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याएर दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो।
प्रकाशित: १३ बैशाख २०८०, बुधबार