
काठमाडौं ।
देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।
पञ्जीकरण सप्ताहका अवसरमा युनिसेफ र महिला, कानुन र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा इन्टरनेटको समस्याका कारण एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको जानकारी गराइएको हो ।
सो अवसरमा छ हजार पाँच सय ८४ वडामा अनलाइन माध्यमबाट व्यक्तिगत घटना दर्ता हुने गरेको जानकारी गराइएको थियो । कार्यक्रममा वडा वडामा व्यक्तिगत घटना दर्ता शिविर पनि सञ्चालन गर्ने गरिएको जनाइएको छ।
विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले व्यक्तिगत घटना दर्तामा देखा परेका समस्या सम्बोधन गरिने प्रतिबद्धता जनाए। व्यक्तिगत घटना दर्तामा परेका समस्या समाधानका लागि आवाज बुलन्द हुनुपर्ने उनको भनाइ थियो। विभागले १५ दिनअघि परिपत्र जारी गरेपछिका चार दिनमा एकल महिलाका तीन सय ६६ सन्तानको जन्मदर्ता भएको उनले जानकारी दिए। परिपत्रमा केही भाषा संशोधन गर्नुपर्ने सुझाव आएको चार दिनमा त्यसलाई सुधार गरिएको उनले बताए।
प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार