
काठमाडौं ।
एप्पलले आईफोनको स्थापनादेखि नै आफ्ना उपकरणहरूमा साइडलोडिङ एप्सको विरुद्धमा रहेको थियो। तर अब भने एप्पलको उक्त विषयमा चाँडै नै परिवर्तन आउन सक्ने सम्भावना छ। प्रख्यात एप्पल विश्लेषक मार्क गुरम्यानका अनुसार, आगामी आईओएस १७ मा साइडलोडिङ इनएबल गरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
यद्यपी यस विषयमा अहिलेसम्म पुष्टि भने नभएको बताइएको छ। आगामी आईओएस १७ ले भविष्यमा साइडलोडिङको लागि आधार बनाउन सक्छ भनी उल्लेख गरिएको छ। त्यसैगरी, ईयूको नयाँ डिजिटल (मार्केट एक्ट (बजार ऐन) २०२४ मा लागू हुने भएको छ। यसले गर्दा कम्पनीहरूले प्रयोगकर्ताहरूलाई (अल्टरनेटिभ सोर्सेस्) वैकल्पिक स्रोतहरूबाट एपहरू इन्स्टल गर्न अनुमति दिनु पर्ने आवश्यकता रहने उल्लेख गरिएको छ। त्यसै कारणले गर्दा अब आईओएस १७मा पनि परिवर्तन आउने सम्भावना छ।
साथै एप्पलले यदि ईयूको उक्त नयाँ डिजिटल मार्केट एक्ट पालन गर्न चाहेको खण्डमा भने कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्नै आधिकारिक एप स्टोर भन्दा फरक एप स्टोरहरूबाट पनि एपहरू इन्स्टल गर्न अनुमति दिनुपर्ने बताइएको छ।
गोपनीयता र सुरक्षा चिन्ताहरू उत्पन्न हुने भएकाले एप्पलले साइडलोडिङ इनएबल गर्न अस्वीकार गर्दै आएको र एप्पलले यसलाई कसरी ह्यान्डल गर्छ भन्ने चासोको विषय बनेको छ। कम्पनीको वार्षिक डब्ल्यूडब्ल्यूडीसी सम्मेलनको दौरना यस बारे थप जानकारी प्राप्त हुनेछ। त्यसैगरी उक्त डब्ल्यूडब्ल्यूडीसी सम्मेलनमा वाचओएसले ठूलो परिवर्तनको साथ स्पटलाइट चोर्ने अफवाह पनि रहेको उल्लेख गरिएको छ।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार