
काठमाडौं ।
देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ। देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वर्ल्डलिंक र क्रिकेट संघ नेपाल बीच बैशाख ५ गते मङ्गलबार आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको उक्त समझदारी पत्रमा वर्ल्डलिंकको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र क्यानको तर्फबाट कार्यकारी सचिव दुर्गा राज पाठकले हस्ताक्षर गरेका छन्। तीन वर्षका लागि भएको यो सम्झौताको अवधि दुवै पक्षबीचको आपसी समझदारीमा थप समयका लागि विस्तार हुन सक्ने बताइएको छ।
समझदारीमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा कम्पनीका सीईओ नेपालले वर्ल्डलिंक देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक भएको नाताले पनि देशको खेललाई बिस्तार तथा प्रबर्द्धन गर्नु आफूहरूको जिम्मेवारी भएको बताए।
“हामीले देशका दुर्गम स्थानहरूमा पनि सेवा उपलब्ध गराइरहेका छौं। पछिल्लो समय खेलमा पनि नेपालले प्रगति गरिरहेको छ। यसलाई देशका हरेक कुनाकुना सम्म पुर्याउनु हाम्रो दायित्व हो । यही कुरालाई मनन गर्दै हामीले खेल प्रवर्द्धनमा सहयोग गरेका हौं,” उनले भने ।
सम्झौता अनुसार मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा वर्ल्डलिंकले वैकल्पिक अप्टिकल फाइबर केवलसहित ४० एमबीपीएस गतिको डेडिकेटेड इन्टरनेट सुविधा उपलब्ध गराउनेछ। यससँगै जारी एसीसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा १०० एमबीपीएसको डेडिकेटेड इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित: ६ बैशाख २०८०, बुधबार