
काठमाडौं ।
चार्जमा राखेको शाओमीको सब ब्राण्ड पोको एम सिरिजको स्मार्टफोन पड्किएको छ।
पोखरा वडा नम्बर ३० खुदीमा घर भएका संदेश तिवारीले प्रयोग गर्दै आएको पोकोको एम सिरिजको स्मार्टफोन अचानक पड्किएको हो।
उक्त फोन उनले करिब दुई वर्ष अगाडि आफ्नै साथीको पसलबाट किनेका थिए। तिवारीले आफ्नो साथी सिदार्थ भण्डारीको पसलबाट सो फोन किनेको भण्डारीले नै जानकारी दिए।
गत साता दिउँसो चार्जमा राखेको फोनबाट अचानक धुवाँ आएको थियो र सो फोनलाई तिवारीले बाहिर मिल्काएका थिए।
उनले हामीलाई पठाएको भिडियोमा फोन पछाडिको कभर निस्किएको छ भने फोनको ब्याट्री पुरै जलेको देखिन्छ। सो घट्नामा फोनको अगाडिको डिस्प्ले सेटबाट बाहिर उछिटिएको देखिन्छ।
भिडियोमा उनले चार्जमा राखेको र चार्जमा राख्दा ब्याट्री तातेर धुवाँ आएको र तल मिल्काएको बताएका छन्।
उनलाई फोन बेच्ने भण्डारीले पनि दिउँसो उक्त घट्ना हुँदा सचेत भएको र अन्य आगलागीको घट्ना हुनबाट बचेको बताए।
“दिउँसो भएको हुँदा अन्य घट्ना भएन नत्र आगो नै बलेको भनेर उसले जानकारी दिएको थियो।” भण्डारीले टेक्नोलोजीखबरसँग भने।
भण्डारीकाअनुसार प्रयोगकर्ताले ओरिजिनल चार्जर नै प्रयोग गरिरहेका थिए। सो फोनको वारेन्टी भए नभएको बारेमा भने कार्ड हेरेपछि मात्र भन्न सकिने उनले बताए। त्यस्तै पोको एम सिरिजको कुन फोन हो भनेर यकिन नभएको उनले स्पष्ट पारे।
हालसम्म उनीहरुले शाओमीको आधिकारीक सर्भिस सेन्टरमा भने सम्पर्क नगरेको भण्डारीले जानकारी दिए।
प्रकाशित: ४ बैशाख २०८०, सोमबार