नयाँ वर्षदेखि सेवा प्रदायक आफैंले गुणस्तर मापन गर्नुपर्ने नियम लागू

  • Technology Khabar | ३ बैशाख २०८०, आईतवार
नयाँ वर्षदेखि सेवा प्रदायक आफैंले गुणस्तर मापन गर्नुपर्ने नियम लागू

काठमाडौं ।

२०८० वैशाख १ गतेदेखि दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुले आफैंले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्नुपर्ने नियम लागू भएको छ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको गुणस्तर तथा दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७९ नयाँ वर्षदेखि कार्यान्वनयमा आएको छ, जसको आधारमा अनुमति प्राप्त कम्पनीहरुले आफैंले आफ्नो सेवाको गुणस्तर मापन गर्नुपर्ने भएको हो।

नयाँ नियमअनुसार तोकिएको न्यूनतम गुणस्तर कायम गर्न नसक्ने सेवा प्रदायकको अनुमतिपत्र खारेजीसम्म गर्ने व्यवस्था राखिएको छ।

विनियमावलीले आधारभूत दूरसञ्चार सेवा, आधारभूत टेलिफोन सेवा, मोबाइल सेवा, इन्टरनेट तथा डाटा सेवा सञ्चालन गर्ने अनुमति प्राप्त सेवा प्रदायकहरुले कायम गर्नुपर्ने गुणस्तरको मापदण्ड निर्धारण गरेको छ।

तोकिएको मापदण्ड पुरा गर्न विनिमावलीअनुसार नियामकले निश्चित समय तोकेर निर्देशन दिनेछ भने उक्त निर्देशनअनुसार मापदण्ड कायम गरिनुपर्नेछ। नत्र नियामकले दूरसञ्चार ऐन २०५३ अनुसार कारबाही गर्ने उल्लेख छ।

तर सेवा प्रदायकहरुले निर्धारित अवधिमा सेवाको गुणस्तर कायम गर्न नसक्ने भएमा त्यसको आधार, कारण तथा गुणस्तर कायम गर्नको लागि गरेको काम कारबाहीको विवरण र विनियमावली अनुसार सेवाको गुणस्तर कायम गर्न आवश्यक पर्ने अवधि खुलाई प्राधिकरण समक्ष निवेदन दिनुपर्ने छ।

यसरी प्राप्त निवेदनको व्यहोरा उचित देखिएमा प्राधिकरणले त्यस्तो सेवा प्रदायकलाई सेवाको गुणस्तर कायम गर्न थप अवधि दिनेछ। उक्त थप अवधिमा समेत सेवाको गुणस्तर कायम गर्न नसक्ने सेवाप्रदायकको अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार प्राधिकरणले खारेज गर्न सक्ने उल्लेख छ।

दूरसञ्चार सेवाको गुणस्तर मापन गर्न आवश्यक पर्ने उपकरणसहित अन्य स्रोतको व्यवस्थासमेत सेवाप्रदायकहरूले नै गर्नुपर्ने विनियमावलीमा लेखिएको छ।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...