
काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया २०२३ को फाइनल आज (शुक्रबार) देखि शुरु हुने भएको छ। पीएमपीएल लिग स्टेजबाट छनोट भएका १६ टिमबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ।
लिग स्टेजमा सहभागी २० टिम मध्ये शीर्ष १६ स्थानमा पर्न सफल टिम फाइलनको यात्रा बनाउन सफल भएका हुन्। फाइनल चरणको खेल शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म सञ्चालन हुनेछ।
फाइनलका लागि नेपालको ८ टिम, मंगोलियाको ७ टिम र बंगलादेशको १ टिम छनोट भएका छन्। तीन दिन हुने फाइनलमा कुल १८ खेल खेलिनेछ। लिग चरणमा हासिल गरेको प्वाइन्टका आधारमा फाइनलमा सहभागी टिमहरुलाई बोनस प्वाइन्ट पनि दिइएको छ। फाइनल खेल अगावै सहभागी टिमहरुले अधिकतम ७७ प्वाइन्ट र न्यूनतम २७ प्वाइन्ट प्राप्त गरिसकेका छन्।
फाइनलमा सर्वाधिक ७७ प्वाइन्ट सहित मंगोलियाको स्टलवार्ट इस्पोर्ट्स शीर्ष स्थानमा छ भने नेपालको रअ स्पोर्ट्स २७ पवाइन्ट सहित १६ औं स्थानमा छन्।
यस प्रतियोगिताको कुल पुरस्कार राशी ८० हजार अमेरिकी डलर रहेको छ। लिग स्टेजबाट आफ्नो यात्रा पुरा गरेका ४ टिमले समान २÷२ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।
भने प्रतियोगितामा जित्ने टिमले साढे ९ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। टिमहरुले हासिल गर्ने स्थानका आधारमा पुरस्कार राशी वितरण हुनेछ। फाइनलको शीर्ष १२ स्थानमा रहने टिम साउथ एशिया च्याम्पियनशिपका लागि छनोट हुनेछ।
पीएमपीएल पाकिस्तानमा शीर्ष ८ स्थानम पर्न सफल टिम साउथ एशिया च्याम्पियनशिपका लागि छनोट भइसकेका छन्।
पीएमपीएल साउथ एशिया २०२३ को फाइलनमा स्थान बनाउन सफल टिमहरुले आफ्नो यात्रा कायम राख्न कम्तिमा पनि शीर्ष १२ स्थानमा पर्नु पर्ने हुन्छ।
प्रकाशित: १ बैशाख २०८०, शुक्रबार