
काठमाडौं ।
छिमेकी देश भारतमा जारी आईपीएल २०२३ को ओटीटी टूर्नामेन्ट लाइभ अनलाइन प्रसारण गरिरहेको जियो सिनेमाले एउटा रोचक जानकारी सार्वजनिक गरेको छ। चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले राजस्थान रोयल्स विरुद्धको रन चेजको क्रममा छक्का प्रहार गर्दा जियो-सिनेमाको दर्शक संख्या २.२ करोड नाघेको बताइएको छ।
यो जियो सिनेमाले सन् २०२३ को सिजनमा अहिलेसम्मकै उच्च दर्शक भएको बताएको छ।
जियो सिनेमाका अनुसार दर्शकले अन्तिम बलसम्म खेलको उतारचढाव हेरीरहेका थिए। उत्कृष्ट फिनिशर मानिने धोनीले अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। आईपीएलको यो रोचक खेल बुधबार चेन्नईको चेपोक स्टेडियममा भएको थियो ।
जियो सिनेमाकाअनुसार गत सप्ताहन्तमा दर्शकको हिसाबले राम्रो सुरुवात भएको छ। पहिलो हप्ताको अन्त्यमा भिडियो हेराइको संख्याले अघिल्लो सिजनको भिडियो हेराइको संख्यालाई पार गर्यो। जियो सिनेमामा भिडियो रेकर्ड १४७ करोड भन्दा बढी हेरिएको छ। जियो-सिनेमा प्रति खेल प्रति भिडियो खर्च हुने समय पनि ६० प्रतिशतले बढेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
अर्को रिपोर्टअनुसार जियो सिनेमाको एपले आईपीएलको उद्घाटन सप्ताहान्तमा १.४७ बिलियन डिजिटल भिडियो भ्यूहरू रेकर्ड गरेको छ। यसबाहेक करिब पाँच करोड मोबाइल एप डाउनलोड भएको समाचारमा उल्लेख छ।
प्रकाशित: १ बैशाख २०८०, शुक्रबार