
काठमाडौं ।
सवारी चालक अनुमतिपत्र सहजरूपले उपलब्ध गराउन कोशी प्रदेश सरकारले यातायात व्यवस्था सेवा कार्यालय विस्तार गरेको छ।
अहिले प्रदेशका सातवटा कार्यालयबाट सवारी चालक अनुमतीपत्र दिने र सुनसरीको हलगडामा कार्यालय स्थापना गरि सवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ। प्रदेश सरकारले मोरङ, सुनसरी, धनकुटा, उदयपुर तथा ओखलढुङ्गा जिल्लामा कार्यालय स्थापना गरि सेवा विस्तार गरेको हो।
चालक अनुमतीपत्र वितरण प्रणालीलाई सहज बनाउन यहीबाटै लाइसेन्स प्रिन्ट गर्नेगरि प्रदेश सरकारले बजेटको व्यवस्था मिलाउन लागेको यातायात व्यवस्था विभाग कोशी प्रदेशका महाशाखा प्रमुख गौतमराज अमात्यले बताए।
विराटनगरस्थित यातायात सेवा कार्यालयबाट दैनिक तीन सय देखी पाँच सय जनाले सेवा लिइरहेका छन् । कार्यालयले दैनिक २५ देखी २८ लाख रुपैयाँ राजश्व सङ्कलन गर्दै आएको छ । कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नभएपनि अहोरात्र खटेर सेवा गरिरहेको कार्यालयका सूचना अधिकृत गिरिजा पराजुलीको भनाई छ।
सेवा बिस्तारसँगै प्रदेश सरकाले सबै कार्यालयमा अनलाइन सिष्टमबाट सेवा गर्ने व्यवस्था मिलाउन लागेको छ। आगामी साउन देखि कोशी प्रदेशका सबै कार्यालयमा अनलाइन सिष्टम लागु हुने यातायात व्यवस्था विभाग कोशी प्रदेशका अधिकृत सुभाष कार्कीले बताए।
कार्यालय विस्तरसँगै आफ्नै जिल्लाबाट चालक अनुमतिपत्र पाउन थालेपछि सेवाग्राही समेत उत्साहित भएका छन्। समय पनि कम लाग्ने र छिटो छरितो रुपमा सेवा पाउन थालेपछि सेवाग्राही उत्साहित भएका हुन्। यसअघि चालक अनुमतीपत्र बनाउनका लागी सेवाग्राहीलाई सुनसरीको इटहरी र झापाको विर्तामोड जानुपर्ने अवस्था थियो।
प्रकाशित: १ बैशाख २०८०, शुक्रबार