
काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
मन्त्री डा. महतले भन्सार व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै यस्तो निर्देशन दिएका हुन्। उनले भने, ‘म अर्थ मन्त्रालयमा शोभा बढाउन आएको होइन, राजनीति नेतृत्व, कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर अहिले अर्थतन्त्रमा देखिएको समाधान गरौं।’
मन्त्री डा. महतले भने, ‘अहिले राजस्व घटेको छ। राजस्व घट्दा कर्मचारी दोषी छन भनेर कठघरामा उभिनुभएको छ भन्ने मेरो भनाइ होइन्। राजस्व घटनुको विभिन्न कारण छन्। हामी आफै कति कारक छौं, त्यसको आत्ममूल्यांकन हामी सबैले गर्नुपर्छ। पछिल्लो समयमा चोरी पैठारी बढ्यो, यो चोरी पैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन्। भन्सार नाकाकै छेउछाउबाटै चुवाहट आएको छ, यो गम्भीर कुरा हो।’
यसका साथै उनले मोबाइल फोनको तस्करी भईरहेकोमा समेत ध्यानाकर्षण गराए।
‘मोबाइल फोनमा सिस्टम लागू नगर्दा चोरी पैठारी बढेको, राजस्व घटेको छ। कर्मचारीले आफ्नो जिम्मेवारी उच्च कर्तव्यनिष्ठका साथ पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छ। राज्यको आयले साधारण खर्च धन्न नसक्नु दुर्भाग्य हो, यसबारे राजनीतिक नेतृत्व गम्भीर छ। यो समस्या समाधानका लागि हाम्रोतर्फ कुनै कसर बाँकी राखिँदैन। उद्योग व्यवसायीलाई दिइने झन्झटप्रति पनि हामी त्यत्तिकै समवेदनशील छौं। अर्थतन्त्रको सबै पक्षमा म प्रवेश गर्न चाहन्न’, डा. महतले भने।
भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिर्पोटअनुसार २८ प्रतिशत भन्सार घटेको बताईएको छ।
उनले महानिर्देशकलाई विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ त्यसको रिर्पोट दिन समेत भनेका छन्।
प्रकाशित: २७ चैत्र २०७९, सोमबार