तीन घण्टाभन्दा बढी स्मार्टफोन चलाउँदा ढाड दुख्ने प्रमुख कारण बन्न सक्ने

  • Technology Khabar | २६ चैत्र २०७९, आईतवार
तीन घण्टाभन्दा बढी स्मार्टफोन चलाउँदा ढाड दुख्ने प्रमुख कारण बन्न सक्ने

काठमाडौं ।

स्मार्टफोन अहिले मानव जीवनको एउटा महत्वपूर्ण हिस्सा बनिसकेको छ। मानिसहरु स्मार्टफोन बिना केहि घण्टा बिताउन सक्दैनन्। यसका साथै डिजिटल क्रान्तिका कारण विद्यालय, कलेज आदिका विद्यार्थीले पनि ल्यापटप, ट्याब्लेट आदिमा घण्टा बिताउँछन् । एकै समयमा गेमिङ मन पराउने बालबालिका र युवाहरू पनि लामो समयसम्म यी ग्याजेटहरूमा टाँसिने गर्छन्।

यस्तो अवस्थामा एक नयाँ अनुसन्धानले गलत शारीरिक पोजिसनमा यति लामो समयसम्म बस्नु बालबालिका र युवाको ढाड दुख्ने प्रमुख कारण बन्न सक्ने देखाएको छ।

ब्राजिलका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन हेल्थकेयर नामक विज्ञान पत्रिकामा प्रकाशित भएको छ। जसमा दिनको ३ घण्टाभन्दा बढी समयसम्म लगातार स्क्रिन हेरिरहँदा मेरुदण्डलाई कसरी क्षति पुग्न सक्छ भन्ने बताइएको छ।

शारीरिक पोजिसनको सन्दर्भमा भनिएको छ कि स्क्रिन आँखाको धेरै नजिक हुँदा र मानिस मेरुदण्डको सहारा लिएर गलत पोजिसनमा बसेको वा पेटलाई दबाब दिएर सुतिरहेको बेला स्क्रिनमा हेरिरहेको अवस्थामा यस्तो पोजिसनमा बस्नु खतरनाक हुनसक्छ।

अध्ययनको विशेष फोकस थोरासिक स्पाइन पेन (टीएसपी) मा छ। थोरासिक स्पाइन छातीको ठीक पछाडिको काँधको तलको भाग हो, यो घाँटीको तल्लो भागबाट सुरु हुन्छ। अनुसन्धानले साओ पाउलो राज्यको एक मध्यम आकारको सहरमा हाई स्कूलको पहिलो वा दोस्रो वर्षमा १४ देखि १८ वर्षका युवा र युवतीहरूलाई समावेश गरेको थियो।

रिपोर्टकाअनुसार पहिलो आधारभूत प्रश्नावली मार्च-जुन २०१७ मा पूरा गरियो जसमा १६२८ युवा पुरुष र महिलाहरू सहभागी थिए। त्यस पछि २०१८ मा, यी मध्ये १३९३ ले फलोअप दिए। ३८.४ प्रतिशतमा टीएसपी लक्षणहरू फेला पर्यो। यहाँ टीएसपीको गुनासो केटाभन्दा केटीमा बढी पाइएको थियो।

रिपोर्टले भनेअनुसार आजकल टीएसपी वयस्कहरूमा साथै बालबालिका र किशोरहरूमा पनि धेरै देखिन्छ। यो १५-३५ प्रतिशत वयस्कहरूमा पाइन्छ जबकि यो १३-३५ प्रतिशत बालबालिका र किशोरहरूमा पाइन्छ।

कोभिड–१९ पछि विद्युतीय उपकरणको प्रयोग बढेको छ, जसले यसलाई थप बढाएको छ। यसले व्यक्तिको शारीरिक व्यवहारसँगै मनोवैज्ञानिक व्यवहारलाई पनि असर गर्छ। अनुसन्धानले विद्यालय र संस्थाका अलावा बालबालिका र युवाहरूलाई घरमा पनि शारीरिक रूपमा बढी सक्रिय हुन सल्लाह दिनुपर्ने बताएको छ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार