
काठमाडौं ।
सामसङको आगामी प्रिमियम ट्याब्लेट ग्यालेक्सी ट्याब एस९ अल्ट्राको आधिकारिक लन्च हुनु अघि यसको मुख्य विशेषताहरू लीक भएको छ।
टिपस्टर आइस युनिभर्सले ट्याब्लेटको डाइमेन्सन, डिस्प्ले, ब्याट्री र कार्यसम्पादनका बारेमा विवरणहरू उपलब्ध गराएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
ग्यालेक्सी ट्याब एस९ अल्ट्रामा यसको पूर्ववर्ती ट्याब एस८ अल्ट्राको जस्तै २०८.६x३२६.४x५.५ एमएम (डाइमेन्सन) आयामहरू रहने आइस युनिभर्सले बताएको छ। यस ट्याबमा १४.६ इन्चको डब्ल्यूक्वूएक्सजीए प्लस डिस्प्ले र ४५वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ११२००एमएएच ब्याट्री प्याक फिचर गरिने बताइएको छ। यद्यपि बक्स प्याकमा चार्जर भने समावेश नगरिने सम्भावना रहेको उल्लेख छ। ट्याब्लेटको अग्लो आकारको कारक र बल्क ब्याट्रीको कारणले गर्दा यस ट्याब्लेट केही भारी भएको र यसको तौल लगभग ७३७ ग्राम रहेको छ।
ग्यालेक्सी ट्याब एस ९ अल्ट्रामा अपग्रेडेड् पर्फमेन्स युनिट (अपग्रेड गरिएको कार्यसम्पादन इकाई) पनि रहने बताइएको छ। सामसङले यस ट्याबमा क्वालकम स्न्यापड्रागन ८ जेन २ एसओसी समावेश गर्ने भएको छ। साथै यस ट्याबमा पनि ग्यालेक्सी एस२३ सिरिजको जस्तै ३.३६ गीगाहर्जको पीक क्लक स्पीडको साथ फ्ल्यागशिप चिपसेटको अनुकूलित संस्करण फिचर गरिने थप बताइएको छ। ट्याब्लेटले १६ जीबी सम्म एलपीडीडीआर५एक्स र्याम पनि पदान गर्ने अपेक्षा गरिएको छ।
ग्यालेक्सी ट्याब एस९ अल्ट्रामा पानी र धुलो प्रतिरोधको लागि आईपी६८ रेटिङ्ग हुने बताइएको छ। यो डिभाइस १.५ मिटर गहिरो पानीमा ३० मिनेटसम्म डुबेर पनि केही समस्या नहुने र धुलो प्रतिरोधी रहेको उल्लेख छ।
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार