वेबसाइटमा भेटिन्न पालिकाका निर्णय

Technology Khabar १९ चैत्र २०७९, आईतवार

काठमाडौं ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकाको वेबसाइट पोर्टल बनाएको छ। पालिकाले राख्नुपर्ने र राख्न चाहेको शीर्षक थप्न मिल्ने व्यवस्था वेबसाइटमा गरिएको छ। यद्यपि धेरै पालिकाले कार्यपालिकाका निर्णय वेबसाइटमा सार्वजनिक गरेको पाइन्न।

सञ्चारकर्मी प्रकाश मिश्रका अनुसार पालिकाले प्रचार गर्नुपर्ने वा सार्वजनिक गर्नुपर्ने सूचना बोलाएर दिन्छन्। तथापि नगरपालिकाका धेरैजसो निर्णय सार्वजनिक हुँदैनन्। कतिपय निर्णय विवादमा परेपछि मात्रै सार्वजनिक हुने गरेका छन्। जानकी गाउँपालिका–४ का परशुराम महतोले जनप्रतिनिधिका नम्बर राखेजस्तै निर्णयसमेत सार्वजनिक गरिनुपर्ने बताए।

जोशीपुरका अभिमन्यु चौधरीले पालिकाको वेबसाइटमा सेवाग्राहीलाई आवश्यक जानकारी नहुने बताए। उनले कुनै पनि विषयमा जानकारी चाहिए पदाधिकारीलाई या स्वकीय सचिवलाई सोध्नुपर्ने बाध्यता रहेको बताए। जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले पालिकाका निर्णय सार्वजनिक गर्नुपर्ने विषयमा ध्यान नै नगएको भन्दै अबका दिनमा निर्णय वेबसाइटमा राखिने बताए।

राष्ट्रिय सूचना आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेल सार्वजनिक सरोकारका सूचना सबैले सार्वजनिक गर्नुपर्ने र नागरिकले जानकारी नपाएको गुनासो गरे कारबाही गरिने बताए।

कैलालीका टीकापुर, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाले कार्यपालिकाका निर्णयलगायतका सार्वजनिक सूचना वेबसाइटमा राख्ने गरेका छन्। गोरखापत्रबाट

प्रकाशित: १९ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया