डिजिटल घर नम्बर प्रणाली सुरु

  • Technology Khabar | १९ चैत्र २०७९, आईतवार
डिजिटल घर नम्बर प्रणाली सुरु

काठमाडौं ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा क्यूआर कोडसहितको  डिजिटल घर नम्बर प्रणाली सुरु गरिएको छ।

नगर विकास कोषको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको वडा नं. ४ मा डिजिटल घर नम्बर प्रणाली पाइलट प्रोग्राम (नमुना कार्यक्रम)को रूपमा सुरु गरिएको हो।

पहिलो चरणमा वडा नं. ४ का एक हजार २३६ घर डिजिटल घर नम्बर प्रणाली लागू गरिने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईंले जानकारी दिए। “नेपालमा यस्तो प्रणाली लागू गरिएको छैन, हामीले पहिलो पटक यो प्रणाली लागू गरेका हौँ, वडा नं. ४ को काम सकिएपछि यसै आर्थिक वर्षमा नगरपालिकाका अन्य तीन/चारवटा वडामा नगरपालिकाको आन्तरिक स्रोतबाट यो प्रणाली लागू गर्ने तयारी गरेका छौँ,” हुमागाईंले भने।

वडा नं. ४ मा सुरु गरिएको परियोजनाका लागि नगर विकास कोषले करिब १६ लाख रुपियाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग गरेको नगरपालिकाले जनाएको छ। उनले यस वर्ष डिजिटल नम्बर प्रणाली लागू हुन नसकेका वडामा आगामी आर्थिक वर्ष लागू गरिने बताए।

“डिजिटल घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा रहेको छ, उक्त घर केबाट बनेको लगायतका जानकारी राखिएको छ,” हुमागाईंले थपे।

यो प्रणाली लागू गर्न विगत चार महिनादेखि जियो सर्भिस नेपाल र क्लाउड टेक टेक्नोलोजीले काम गर्दै आएको नगरपालिकाले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: १९ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार