‘सञ्चार मन्त्रालयको सेवा प्रवाह प्रभावकारी बनाउँछु’

Technology Khabar १८ चैत्र २०७९, शनिबार

‘सञ्चार मन्त्रालयको सेवा प्रवाह प्रभावकारी बनाउँछु’
फाइल तस्विर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताएका छन्। उनले सूचना प्रविधिको अधिकतम प्रयोग गरी मातहतका कार्यालयलाई चुस्तदुरुस्त बनाउने बताए।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सचिव राउतले चुनौती चिर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले मन्त्रालयको कार्यपद्धति व्यवस्थित गर्ने, सूचना र सञ्चार प्रविधिमा सबैको पहुँच विस्तार गर्नेसहित काम थालनी गर्ने बताए। सचिव राउतले सञ्चार क्षेत्रले सरकारको वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।

सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएपछि सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारी राउतले पाएका हुन्।

उनले समाजमा बढ्दो साइवर अपराधलाई न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै समग्र समाजलाई गतिशील र चलायमान बनाउने सूचना प्रविधिको क्षेत्रलाई बिस्तार गर्नुपर्ने बताए।

साथै मातहतका विभिन्न निकायबाट अघि बढाइएका कार्यक्रमहरूमा आफ्नै सहयोग रहने प्रतिविद्धतासमेत उनले व्यक्त गरे।

प्रकाशित: १८ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया