टेलिफोनका ग्राहकको गुनासो सुनुवाइमा गम्भीर बन्न सञ्चारमन्त्री शर्माको निर्देशन

  • Technology Khabar | १७ चैत्र २०७९, शुक्रबार
टेलिफोनका ग्राहकको गुनासो सुनुवाइमा गम्भीर बन्न सञ्चारमन्त्री शर्माको निर्देशन
फाइल तस्विर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिफोनका बिषयमा सेवाग्राहीबाट आउने गुनासोप्रति गम्भीर बन्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिएकी छन्।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाको निरीक्षणपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकाले टेलिकमको सेवा प्रवाह पनि सहज हुनुपर्ने बताईन्।

सेवाग्राहीले सेवा नपाउँदा गर्ने गुनासो सुनुवाइलाई प्राथमिकतामा राखेर त्यसलाई सम्बोधन गर्नेगरी कर्मचारीलाई प्रशिक्षित गर्न पनि उनले आग्रह गरिन्। आफू मन्त्री भएपछि पहिलो निर्णयको रुपमा राजमार्गको सबै ठाउँमा मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न निर्देशन दिएको स्मरण गराउदै उनले यसको पूर्ण कार्यान्वयनमा जानपनि आग्रह गरिन्। राजमार्गसँगै

अस्पताललगायतका समवेदनशील ठाउँलाई प्राथमिकता दिएर सेवा विस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले लुम्बिनी प्रदेशको कति प्रतिशत क्षेत्रमा फोन र इन्टरनेट बिस्तार भएको छ र बाँकी क्षेत्रमा कहिले पुर्याउन सकिन्छ भनेर अध्ययन गर्न पनि निर्देशन दिईन्। उनले कर्मचारी व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गर्दै कोही दुर्गममा बसिरहने र कोही पहुँचको भरमा सुगममा बस्ने अवस्था रहन नहुने बताईन्।

हरेक कर्मचारी म यति समय सुगममा बसेँ भने यति समय दुर्गम जानुपर्छ भन्ने मानसिकतामा बस्नुपर्नेमा मन्त्री शर्माले जोड दिईन्। नेपाल टेलिकमका प्रादेशिक निर्देशनालयका प्रबन्धक शिव खनालले प्रदेशभित्रको टेलिफोन सेवाको अवस्थाबारे जानकारी गराएका थिए।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार