काठमाडौं ।
एडीबी, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल सरकार र नास्टको आयोजनामा Accelerating Sanitation for All in Asia and the Pacific (Nepal Project) को एडीबी सेनिटेसन ह्याकाथन अप्रिल २७-२९, २०२३ मा आयोजना हुँदैछ। एडीबी सेनिटेसन ह्याकाथनले नेपालभरका आविष्कारकहरूलाई रचनात्मक टेक्नोलोजी बिकास गर्न टीमवर्कको माध्यमबाट देशमा सरसफाइ कर्मचारीहरूको सुरक्षा र मर्यादामा सुधार गर्ने उद्देश्यले प्राविधिक समाधानहरू विकास गर्न प्रेरित गर्दछ ।
यो ह्याकाथन एडीबी प्राविधिक सहायता कार्यक्रम मध्येको एक सानो हिस्सा हो जसले एसिया र प्रशान्त क्षेत्रका सबैका लागि सरसफाइ क्षेत्रलाई परिष्कृत बनाउन खोज्दैछ, र नेपाल त्यस्ता सहभागी देशहरूमध्ये एक हो। ह्याकाथनको सम्पूर्ण व्यवस्थापन रोबोटिक्स एसोसिएसन अफ नेपालले गर्दैछ भने एडीबीको अनुदान सहयोग रहेको जानकारी दिईएको छ।
यस ह्याकाथनको लक्ष्य नेपालमा सरसफाई कामदारहरूको स्वास्थ्य, सुरक्षा, कल्याण र कामको अवस्थालाई सुधार गर्न सक्ने नवीन आइडियाहरू वा प्राविधिक समाधानहरू सहितको स्टार्ट-अप कम्पनी पहिचान गर्नु हो।
आयोजककाअनुसार प्रतिस्पर्धात्मक छनोट प्रक्रिया मार्फत, एक स्टार्टअप वा स्टार्टअप जेभी पहिचान गरिनेछ जसले परियोजनाको विज्ञ परामर्शदाता इन्जिनियर, व्यवस्थापन कार्यालय (PMO), नास्ट र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्नेछ। यस परियोजनाले उक्त प्राविधिक समाधानहरू आविष्कार/विकास/हस्तान्तरण गर्दै हाललाई दुई वटा शहर – भरतपुर र नेपालगन्जमा सुरुवात गरेर सरसफाइ कार्यलाई सम्मानित र सुरक्षित पेशाको रुपमा रूपान्तरण गर्न मद्धत गर्ने लक्ष्य राखेको छ।
ह्याकाथनले सम्भावित आविष्कारकहरूको पूर्व-छनोट र छोटो-सूची, अभिमुखीकरण सत्रहरू, नवीन आइडियाको पिचिङ, स्थानीय डिजाइन प्रदर्शनहरू, र आधुनिक प्रविधि पहिचान सहितको ह्याकाथनजस्ता विभिन्न गतिविधिहरू प्रस्तुत गर्नेछ। यो कार्यक्रम एक महिनाको अवधिमा सञ्चालन हुनेछ, र नेपालभरका आविष्कारकहरूलाई सहभागी हुन प्रोत्साहित गरिन्छ। ललितपुरको नास्टको प्राङ्गणमा गरिने उक्त कार्यक्रममा उपस्थित हुनका लागि देशभरबाट उत्कृष्ट १० चयन गरिएकाहरूलाई यात्रा र अन्य आधारभूत खर्चको व्यवस्था गरिने बताईएको छ।
१० उत्कृष्ट स्टार्टअपले आफ्नो मोडेल विकासका लागि ५०० डलर तथा विजेता समूहले ४०,००० डलर अनुदान प्राप्त गर्नेछन् र त्यो अनुदानबाट प्रविधि विकास गरी नेपालगन्ज र भरतपुर दुईटा सहरमा प्रयोग गरेर देखाउनुपर्ने आयोजकले जनाएको छ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार