
काठमाडौं ।
एप्पलका सीईओ टिम कुकले भर्खरै चीनका नयाँ प्रिमियर ली क्विआङ र अन्य शीर्ष अधिकारीहरूसँग भेट गरेका छन्।
कम्पनीका वरिष्ठ अधिकारीले चिनियाँ बजारमा ब्रान्डको प्रतिबद्धतालाई पुष्टि गर्न यस हप्ताको शुरुमा एसियाली देशको भ्रमण गरेको भनी गीज्मोचाइनामा उल्लेख गरिएको छ।
टिम कुकले विदेशबाट आएका सी–लेभल एक्जिक्युटिभ्स र स्कोलार्स (अधिकारीहरू र विद्वानहरू) को प्रतिनिधिमण्डलको एक भागको रूपमा लीसँग सोमबार भेटेको बताइएको छ। कुक बेइजिङमा भएको चाइना डेभलपमेन्ट फोरम (सीडीएफ) कार्यक्रममा सहभागी भइरहेका थिए। साथै महामारीले विश्वलाई प्रभाव पारेपछि टिम कुकले चीनको भ्रमण गरेको यो पहिलो पटक भएको उल्लेख गरिएको छ। यस भेटको साथ, कार्यकारीले आपूर्ति श्रृंखला परिवर्तन र भूराजनीतिक अनिश्चितताहरूको बीच बजारमा क्युपर्टिनो बेस्ड जायन्टको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न चाहेको बताइएको छ।
सरल भाषामा भन्नुपर्दा, एप्पलले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारप्रति प्रतिबद्धताको आश्वासन दिइरहेको भनेर बुझ्न सकिने भनी बताइएको छ। हालको विश्वव्यापी अर्थतन्त्रले विभिन्न जटिलता र समस्याहरूको सामना गरिरहेको र यसले गर्दा यस क्षेत्रमा सञ्चालन गरिरहेका विभिन्न ब्रान्डहरूलाई असर परेको उल्लेख छ। तर यी सबैका बाबजुद, ली क्विआङले बदलिँदो भूराजनीतिक परिदृश्यको बाबजुद पनि चीनका प्रतिनिधिहरूले खुलापन र मजबुत व्यापारिक वातावरण उपलब्ध गराउने आश्वासन दिएको उल्लेख गरिएको छ।
त्यसैगरी टिम कुकले चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओसँग पनि भेट गरेका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त बैठकमा “चीनमा एप्पलको विकास र उद्योग आपूर्ति शृङ्खलाको स्थिरता” बारे छलफल भएको बताइएको छ। एप्पलले भाइरल प्रकोपको कारण आईफोन उत्पादनमा धेरै समस्याहरू देखेको र यसले गर्दा यसका केही प्रमुख आपूर्तिकर्ताहरूले उत्पादन र एसेम्बली रोकेपछि एप्पलको यो कदम चाखलाग्दो रहेको छ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार