
काठमाडौं ।
गत महिना आईओएस १६.४ घोषणा गरेको एप्पलले मंगलबार आईफोन र आईप्याडको लागि भनेर आफ्नो नविनतम अपडेट रोल आउट गरेको छ। साथै, म्याकका लागि म्याकओएस १३.३ र एप्पल वाचका लागि वाचओएस ९.४ अपडेट (अद्यावधिक)हरू पनि लाइभ रहेको छ।
उक्त नयाँ अपडेटहरुमा २१ नयाँ इमोजीहरू बन्डल गरिएको र त्यसमा पाँच नयाँ जनावरहरू, दुई हातका इशाराहरू (ह्याड जेस्चर), तीन रङ्गीन हृदयहरू (कलर्ड हार्टस्) का साथै फोल्डिङ फ्यान, बाँसुरी र माराकास जस्ता केही घरेलु वस्तुहरू समावेश रहेको गीज्मोचाइनामा उल्लेख छ।
त्यसैगरी अपडेटहरू वरपर परिवेशको आवाजलाई काट्ने, कलहरूलाई स्पष्ट र क्रिस्पर बनाउने सेलुलर कलहरूको लागि भ्वाइस आइसोलेसन जस्ता केही निफ्टी फिचरहरूका साथ आउने बताइएको छ। फोटोहरूमा डुप्लिकेट एल्बमलाई पनि परिमार्जन गरिएको र यसले अब एल्बमहरूलाई सफा र व्यवस्थित राख्दै आईक्लाउड सेयर्ड फोटो लाइब्रेरीमा स्टोरेज गरिएका ईमेजहरु क्रसचेक गर्नेछ।
साथै, भिडियो कन्टेन्टमा फ्ल्यासिङ लाइट वा स्ट्रोब इफेक्टहरू पत्ता लगाउँदै स्क्रिनलाई मधुरो पार्ने नयाँ एक्सेसिबिलिटी फिचर पनि थपिएको हुनाले यसले आँखालाई आराम प्रदान गर्नेछ।
उक्त अपडेटको बन्डलमा केहि बग फिक्सेस (समाधान) पनि आउने र तिनिहरुले अभिभावकहरूको लागि कन्टेन्ट व्यवस्थापन गर्ने, आकस्मिक अलार्म म्यूट र अन्य साना त्रुटिहरूका समस्याहरू सम्बोधन गर्ने बताइएको छ। एप्पलले आईओएस १६.२ र म्याकओएस भेन्टुरा १३.१ बाट २०२२ मा हटाइएको नयाँ होमकिट आर्किटेक्चरलाई पनि पुनः प्रस्तुत गर्ने उल्लेख गरिएको छ। प्रयोगकर्ताहरूले केही सिरी कमान्डहरू सहिरूपमा काम नगरेको र स्मार्ट होम डिभाइसहरू होम एपमा नदेखिएको रिपोर्ट गरेको बताइएको छ।
उक्त समस्याहरू समाधान भइसकेको र एप्पलले म्याटर–कम्प्याटिबल डिभाइसहरूसँग जोड्ने समस्या पनि समाधान गरेको उल्लेख गरिएको छ। प्रयोगकर्ताहरूले उक्त नयाँ (सुविधा) फिचरहरुको आनन्द लिनको लागि आफ्नो एप्पल डिभाइसहरू (अद्यावधिक) अपडेट गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार