सञ्चार सचिव डा. बैकुण्ठ अर्याल प्रधानमन्त्री कार्यालय तानिए

  • Technology Khabar | १४ चैत्र २०७९, मंगलवार
सञ्चार सचिव डा. बैकुण्ठ अर्याल प्रधानमन्त्री कार्यालय तानिए
फाइल तस्विर

काठमाडौं ।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको सरुवा गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद बैठकले सचिव डा. बैकुण्ठ अर्यालको सरुवा प्रधानमन्त्री कार्यालयमा गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतकाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्याललाई सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ।

“सञ्चार सचिवको सरुवा भएको छ र सञ्चार मन्त्रालयमा मधेश प्रदेशका सचिवलाई ल्याईएको छ,” स्रोतले टेक्नोलोजीखबरसँग भन्यो।

अर्याललाई प्रधानमन्त्री कार्यालयमा तानिएसँगै मधेश प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउतलाई सञ्चार मन्त्रालयमा ल्याईएको स्रोतको दाबी छ।

प्रधानमन्त्री नजिक अर्को स्रोतले समेत उक्त विषयमा छलफल भएको र एकजना सचिवको मात्र सरुवा हुने मन्त्रिपरिषदमा प्रस्ताव गएको पुष्टि गरे।

“सञ्चार सचिवको सरुवाको बारेमा छलफल र प्रस्ताव गएको हो,” स्रोतले भन्यो।

पछिल्लो समय सञ्चार मन्त्री रेखा शर्मासँग सचिव डा. अर्यालको तालमेल मिल्न नसकेको मन्त्रालय स्रोतको दाबी छ। जसले गर्दा मन्त्रालयको कामकाजसमेत प्रभावित भईरहेको बताईएको थियो।

यसअघि पनि अर्याललाई सञ्चार मन्त्रालयबाट सरुवा गर्ने तयारी गरिएको थियो। तर राजनीतिक फेरबदल र सरकार हेरफेरका कारण हुन सकेको थिएन्। “यसअघि पनि सरुवाको प्रयास भएको थियो,” मन्त्रालय स्रोतले उल्लेख गर्यो।

सचिव अर्याल यसअघिका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कार्यकालमा विभिन्न विवादास्पद नियुक्तिहरुमा साथ दिएको भन्दै विवादमा समेत मुछिएका थिए।

उनले नियुक्तिमा साथ दिएका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको बचाउ गर्न र पछिल्लो समय टेलिकमको सेवा अवरुद्ध भएको विषयमा पौडेललाई साथ दिन रेष्टुरेन्टमा टेलिकमका कर्मचारीहरुको भेला बोलाएकोमा आलोचित भएका थिए।

सम्बन्धित समाचार-

जब सञ्चार सचिव अर्यालले नेपाल टेलिकमका एमडी पौडेलको बचाउ गर्न रेष्टुरेन्टमा भेला बोलाए…

नेपाल टेलिकमकै पदेन अध्यक्ष सञ्चार सचिव हुने हुँदा उनी रहेको बोर्डले यसअघि आफैंले बैठक भत्ता बढाउने निर्णय समेत गरेका थिए।

सम्बन्धित समाचार-

नेपाल टेलिकम संचालक समितिले बढायो बैठक भत्ता, पटक पटक कम्पनीलाई भार थप्ने निर्णय गर्दै

यसका साथै सुरक्षण मुद्रण केन्द्रमा विकल पौडेलको नियुक्तिमा पनि उनको भूमिकालाई लिएर आलोचना भएको थियो।

सचिव अर्यालको पदावधि केहि महिना मात्र बाँकी हुँदा उनी प्रधानमन्त्री कार्यालय पुगेको बताईएको छ।

अर्थ मन्त्रालयमा लामो समय काम गरेका र तत्कालिन समयमा वैदेशिक सहयोग समन्वय महाशाखाको सहसचिवबाट सरकारले अर्याललाई कायममुकायम सचिवमा बढुवा गरेको थियो। त्यसबेला उनलाई २०७४ पुस १३ गते सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा पदस्थापन गरेको थियो।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...