ट्विटरको मूल्य आधा भन्दा बढिले घट्यो, हालको बजार मूल्य २० अर्ब डलर

  • Technology Khabar | १४ चैत्र २०७९, मंगलवार
ट्विटरको मूल्य आधा भन्दा बढिले घट्यो, हालको बजार मूल्य २० अर्ब डलर

काठमाडौं ।

इलन मस्कले ट्विटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन्। यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्वीटरको छाता कम्पनी ‘एक्स होल्डिङ्स’का कर्मचारीहरूलाई शेयर बाँडफाँड गरिएको उल्लेख गरिएको छ। क्षतिपूर्ति योजनाले ट्विटरको मूल्य २० अर्ब डलर तोकेको छ। यो मूल्य ‘स्न्यापच्याट’को मूल कम्पनी ‘स्न्याप’ (१८.२ बिलियन डलर) वा ‘पिन्टेरेस्ट’ (१८.७ बिलियन डलर) भन्दा केही मात्र बढी हो।

टेस्ला इङ्क र एयरस्पेस ग्रुप स्पेसएक्सका प्रमुख कार्यकारी समेत रहेका मस्कले ट्विटरले आफ्ना कर्मचारीलाई हरेक ६ महिनामा सेयर नगद गर्न अनुमति दिने बताए। आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उनले भने, “ट्विटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्यो कि एक बिन्दुमा यो चरम आर्थिक सङ्कटको सङ्घारमा पुगेको थियो।

यसअघि, मस्कले ट्विटरमा शनिबार पोस्ट गरेको एक सन्देशमा भनेका छन्, “ट्विटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने अनुमान गरिरहेको छ।” उनले वार्षिक १.५ अर्ब अमेरिकी डलर को राजस्वमा गिरावट र समान रकमको ऋण–सेवा बोझको हवाला दिएका थिए।

ट्विटरका बहुसङ्ख्यक शेयरहोल्डर मस्कले भने, “कम्पनीको अवस्था अत्यन्तै डरलाग्दो स्थितिमा छ।” मस्कले आफ्नो नियन्त्रणमा लिएयता समूहको पेरोल सात हजार ५०० कर्मचारीबाट घटाएर दुई हजारभन्दा कममा झारेका छन्। उनले २५० अर्ब अमेरिकी डलरको मूल्याङ्कनका लागि ‘स्पष्ट तर कठिन बाटो’ देखेको बताएको एएफपीले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...