ट्रम्प पक्राउ परेका र पुटिनलाई जेल हालिएका झूटा तस्बिर सामाजिक सञ्जालमा भाइरल

  • Technology Khabar | १० चैत्र २०७९, शुक्रबार
ट्रम्प पक्राउ परेका र पुटिनलाई जेल हालिएका झूटा तस्बिर सामाजिक सञ्जालमा भाइरल

काठमाडौं ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।

केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ टूल प्रयोग गरेर बनाइएका हुन्। पूर्वराष्ट्रपति ट्रम्प स्वयमले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उनलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल भरिएका हुन्।

यसैगरी नेदरल्याण्डस्को हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी गरेपछि उहाँलाई कारागारमा हालिएका अवास्तविक तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘अपलोड’ गरिएका हुन्।

नक्कली तस्बिर, भिडियो र गलत सूचना प्रवाहले समाजमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिने गलत सूचनासम्बन्धी जानकारहरूले बताएका छन्।काल्पनिक विषयले तथ्यलाई दबाउनु असामाजिक कार्य भएको उनीहरूले टिप्पणी गरेका छन्।

मिथ्या समाचार र तस्बिरले सङ्कटका बेला थप आपत निम्त्याउने तथा निन्दनीयताको स्तर बढाउने सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक जेभिन वेस्टले बताए। मिथ्या तस्बिर र समाचारले दर्शक तथा पाठकको ध्यान ती सामग्रीमा नै केन्द्रित गर्ने र त्यसले वास्तविकता छोपिने उनको तर्क छ। उनका अनुसार यस्ता गतिविधिले प्रणाली प्रतिको विश्वास गुम्नेछ। टूल प्रयोग गरेर बनाइएका तस्बिर यथार्थवादी भए पनि दर्शकले आफ्नो विवेक गुमाउन नहुने उनी बताउँछन्।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार