रुसमा अधिकारीहरूलाई आईफोन प्रयोग बन्द गर्न आदेश

  • Technology Khabar | ८ चैत्र २०७९, बुधबार
रुसमा अधिकारीहरूलाई आईफोन प्रयोग बन्द गर्न आदेश

काठमाडौं ।

क्रेमलिनले रुसको २०२४ को राष्ट्रपतीय चुनावको तयारीमा संलग्न अधिकारीहरूलाई एप्पल आईफोनहरू प्रयोग गर्न बन्द गर्न भनेको छ। एप्पलका डिभाइसहरू पश्चिमी गुप्तचर एजेन्सीहरूका लागि कमजोर छन् भन्ने चिन्ताको कारण आईफोन प्रयोगमा रोक लगाईएको रुसी कोमरसन्ट अखबारले रिपोर्ट गरेको छ।

घरेलु राजनीतिमा संलग्न अधिकारीहरूका लागि क्रेमलिनले आयोजना गरेको सेमिनारमा, राष्ट्रपति प्रशासनका प्रथम उपप्रमुख सर्गेई किरिएन्कोले अधिकारीहरूलाई अप्रिल १ सम्ममा आफ्नो फोन परिवर्तन गर्न भनेको कोमरसन्टले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै लेखेको छ।

“आईफोनको लागि यो सबै समाप्त भयो: कि त यसलाई फ्याँक्नुहोस् वा बच्चाहरूलाई दिनुहोस्,” कोमरसन्टले बैठकमा सहभागी मध्ये एकलाई उद्धृत गर्दै भने, “सबैले यो मार्चमा गर्नुपर्नेछ।”

सोमबार यस मुद्दाको बारेमा सोध्दा, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस रिपोर्टको पुष्टि गर्न नसक्ने बताएको रोयटर्सले रिपोर्ट गरेको छ।

“स्मार्टफोन आधिकारिक व्यवसायको लागि प्रयोग गर्नु हुँदैन,” पेस्कोभले पत्रकारहरूलाई भने, “एन्ड्रोइड वा आईओएस जुनसुकै अपरेटिङ सिस्टम भए तापनि कुनै पनि स्मार्टफोनमा एकदम पारदर्शी संयन्त्र हुन्छ। स्वाभाविक रूपमा, तिनीहरू आधिकारिक उद्देश्यका लागि प्रयोग हुँदैनन्।”

क्रेमलिनले आईफोनहरू प्रतिस्थापन गर्न विभिन्न अपरेटिङ सिस्टमका साथ अन्य उपकरणहरू उपलब्ध गराउन सक्ने रुसी पत्रिकाले भनेको छ। आईफोनहरू प्रयोग गर्न बन्द गर्ने आदेश घरेलु राजनीतिमा संलग्नहरूलाई निर्देशित गरिएको थियो, जसको लागि किरिएन्को जिम्मेवार छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जहिले पनि आफूसँग स्मार्टफोन नभएको बताउँदै आएका छन्, यद्यपि पेस्कोभले पुटिनले समय समयमा इन्टरनेट प्रयोग गर्ने बताएका छन्।

रुसले गत वर्ष युक्रेनमा आफ्नो सेना पठाएको केही समयपछि, अमेरिका र बेलायती जासुसहरूले पुटिनले आक्रमण गर्ने योजना बनाएको गुप्तचरहरुले जानकारी पत्त लगाएका थिए। जासुसहरूले यस्तो खुफिया कसरी प्राप्त गरे भन्ने स्पष्ट छैन।

प्रकाशित: ८ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...