
काठमाडौं ।
हिंसा र अशान्तिको आशंकाका कारण भारतको पञ्जाब राज्यमा मंगलबार दिउँसोसम्म मोबाइल इन्टरनेट र एसएमएस सेवा बन्द हुने भएको छ। प्रदेश सरकारले गएको शनिबार दिउँसोसम्म यी सेवा बन्द गरेको थियो। तर राज्यको गृह तथा न्याय विभागले आज मंगलबार दिउँसोसम्म प्रतिबन्ध लम्ब्याएको हो।
पञ्जाब पुलिस लगातार तेस्रो दिन कथित खालिस्तान समर्थक अमृतपाल सिंहको खोजीमा छ। राज्यको गृह मामिला र न्याय विभागले जारी गरेको आदेशमा भनिएको छ, “पञ्जाबको क्षेत्राधिकारमा सबै मोबाइल इन्टरनेट सेवाहरू, सबै एसएमएस सेवाहरू (बैंकिङ र मोबाइल रिचार्ज बाहेक) र भ्वाइस कलहरू छोडेर मोबाइल नेटवर्कहरूमा सबै डोंगल सेवाहरू प्रदान गर्न निषेध गरिएको छ। हिंसा भड्काउने र शान्ति भंग हुन नदिन जनसुरक्षाको हितमा २१ मार्च भारतीय समयअनुसार दिउँसो १२ बजेसम्म बन्द रहनेछ।”
बैंकिङ सुविधा, अस्पताल सेवा र अन्य अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन ब्रोडब्यान्ड सेवामा रोक लगाइएको छैन। गृह मन्त्रालयका अतिरिक्त सचिवले यस्तो आदेश जारी गरेका हुन्। पञ्जाब सरकारले आइतवार अमृतपाल सिंहका कथित सल्लाहकार र फाइनान्सर दलजीत सिंह कलसी उर्फ सरबजीत सिंह कलसीलाई पक्राउ गरेपछि पञ्जाबको क्षेत्राधिकारमा सोमबार (मार्च २०) दिउँसो १२ बजेसम्म मोबाइल इन्टरनेट र एसएमएस सेवाहरू निलम्बन गरेको थियो।
प्रकाशित: ७ चैत्र २०७९, मंगलवार