कसले हटायो भेरिफाइड रहेको राष्ट्रपतिको ट्विटर एकाउन्ट?

  • Technology Khabar | २ चैत्र २०७९, बिहीबार
कसले हटायो भेरिफाइड रहेको राष्ट्रपतिको ट्विटर एकाउन्ट?

काठमाडौं ।

नेपाली राष्ट्रपतिले प्रयोग गर्दै आएको भेरिफाइड ट्विटर एकाउन्ट डिलिट गरिएको छ। निवर्तमान राष्ट्रपति विद्यादेवी भन्डारीले आधिकारिक रुपमा प्रयोग गर्दै आएको प्रेसिडेन्टअफएनपी (@PresidentofNP) ट्विटर एकाउन्ट नै हटाईएको हो।

निवर्तमान राष्ट्रपति भण्डारीले प्रयोग गर्दै आइरहेको ट्विटर अकाउन्ट ‘प्रेसिडेन्टअफएनपी(@PresidentofNP)’ को ट्विटर ह्यान्डलको नाम परिवर्तन गरेर विद्याभण्डारी (@BiddyaDBhandari) राखिएको देखिन्छ।

भण्डारी नेपालको राष्ट्रपति हुँदासम्म उक्त अकाउन्टमा ब्लू टिक अर्थात ट्विटर भेरिफाइड थियो। तर ह्यान्डलको नाम परिवर्तन गरिएसँगै त्यसमा रहेको प्रमाणिकरण अर्थात ‘ब्लू टिक’ पनि हटेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले सामाजिक सञ्जाल व्यक्तिगत कुरा हुनेले भएकाले यस विषय आफूलाई जानकारी नभएको बताए।

‘सामाजिक सञ्जाल व्यक्तिगत हुन्छ,’ आचार्यले टेक्नोलोजीखबरसँग भने, ‘वर्तमान राष्ट्रपतिले आफ्नो ट्विटर ह्यान्डल कार्यालयसँग लिंक गर्नु भएको छैन।’

प्रवक्ता आचार्यको भनाइ अनुसार निवर्तमान राष्ट्रपति भण्डारीको ट्विटर ह्यान्डल पनि व्यक्तिगत हो। तर यस बारेमा थप जानकारी माग्दा उनले फोन काटेका थिए।

प्रवक्ता आचार्यको भनाईलाई आधार मान्दा पनि निवर्तमान राष्ट्रपति भण्डारीले आफ्नो निजी ट्विटर एकाउन्टलाई नै राष्ट्रपति कार्यालयको आधिकारिक एकाउन्ट बनाएर प्रयोग गर्दै आएकी थिइन्। जसले गर्दा उनी राष्ट्रपतिबाट हटेसँगै आफ्नो एकाउन्टको नाम परिवर्तन गरेको जस्तो देखिन्छ।

तर कसले यसरी दूरुपयोग गरेको हो भन्ने बारेमा सामाजिक संजालमा पनि चर्चा हुन शुरु भएको छ।

 

यसअघि २०७७ कात्तिकमा राष्ट्रपति निवासले संचालन गर्दै आएको शिलतनिवास नामक ट्विटर एकाउन्ट पनि भेरिफाइड भएसँगै डिएक्टिभेट गरिएको थियो।

कांग्रेस नेता एवं सांसद गगन थापाको ‘प्यारोडी एकाउन्ट’का रूपमा विगतमा केही व्यक्तिले चलाएको ह्यान्डलकै नाम फेरेर सो एकाउन्ट राष्ट्रपतिको सूचना संप्रेषणका लागि बनाएको ट्विटर प्रयोगकर्ताले पत्ता लगाएसँगै ह्यान्डल नै डिएक्टिभेट गरिएको थियो।

राष्ट्रपति कार्यालयका तत्कालिन सूचना तथा सञ्चार विज्ञ टिकाप्रसाद ढकालले प्राविधिक समस्या देखिएकाले शितल निवासको नाममा रहेको ट्वीटर अकाउन्ट बन्द गर्नुपरेको भन्दै ट्वीट गरेका थिए।

सम्बन्धित समाचार-

राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर एकाउन्ट नै डिएक्टिभेट

स्मरण रहोस् यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट हट्दा पनि प्रधानमन्त्रीको आधिकारीक ट्विटर एकाउन्ट(@PM_Nepal) फिर्ता नदिँदा सरकारले नयाँ एकाउन्ट बनाएको थियो । त्यस बेला उक्त ट्विटर एकाउन्ट दिन नमानेपछि सरकारले सो एकाउन्टको भेरिफाइड हटाउन लगाएर अडरस्कोर राखेर नयाँ एकाउन्ट (@PM_Nepal_) प्रमाणित गराएको थियो।

आजै मात्र प्रधानमन्त्रीको आधिकारीक ट्विटर ह्याण्डल ह्याकरले अधिनमा लिएपछि पुन फिर्ता गराईएको थियो।

सम्बन्धित समाचार-

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फिर्ता

प्रकाशित: २ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...