Technology Khabar १ चैत्र २०७९, बुधबार
काठमाडौं ।
बाँकेको नरैनापुर गाउँपालिमा राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्ने अभियान शरु भएको छ । योसँगै स्थानीय नागरिकलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत मणीराम खरालले अभियानअन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं। १, २, ३ र ५ मा वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम शरु गरिएको बताए।
राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पहिलो चरणमा चारवटा वडाबाट अभियान सुरु गरिएको बताउनुहुँदै नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले प्रत्येक वडामा दुईवटा स्टेसन रहनेगरी आठ वटा स्टेसनमार्फत विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जानकारी दिए।
गाउँपालिका भित्र शुरु भएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन केन्द्रहरुको अनुगमन गर्दै नरैनापुरका अध्यक्ष इश्तिायक अहमद शाहले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने बताए।
युवाभन्दा वृद्धवृद्धाहरु राष्ट्रिय परिचयपत्र बनाउनका लागि लाइनमा बसेको देखेपछि अध्यक्ष शाहले नरैनापुरवासीको सहजताका लागि वडा परिसरमा थप स्टेशन बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गरे। राष्ट्रिय परिचय पत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुविधायुक्त प्रमाणपत्र भएको बताउनुहुँदै अध्यक्ष शाहले विवरण दर्ता गराउन नरैनापुरवासीसँग अपिल गरे।
नरैनापुर ५ का वडा सचिव भरत महतोले सबै नेपाली नागरिकहरूको वैयक्तिक तथा जैविक विवरणलाई केन्द्रीकृत रूपमा भण्डारणसहित सबै परिचय खुल्ने र नदोहोरिने गरी बहुपयोगी राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गर्ने सङ्घीय सरकारको उद्देश्यअनुरूप विवरण सङ्कलन भइरहेको बताए। उनले दैनिक ८० देखि १०० जनाको विवरण सङ्कलन भइरहेको र विवरण दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको जानकारी दिए।
नरैनापुर २ का सचिव एवम् पालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले सरकारले पछिल्लो समय सबै नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाले अभियानका क्रममा नरैनापुरको वडा टोलमै शिविर आयोजना गरीएकोले सम्पूर्ण नरैनापुरवासीलाई सम्बन्धित वडामा गएर आफ्नो विवरण दर्ता गराउन आग्रह गरे।
नरैनापुर गाउँपालिकामा शुरु भएको अभियान एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विवरण सङ्कलन गरी रहेका राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्राविधिक रामबहादुर ओलीले बताए।
विवरण सङ्कलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न सकिने विभागले जनाएको छ। जिल्ला प्रशासनमा विवरण सङ्कलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको कम्तीमा १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने भएको छ। गोरखापत्रबाट
प्रकाशित: १ चैत्र २०७९, बुधबार