Technology Khabar ३० फाल्गुन २०७९, मंगलवार
काठमाडौं ।
ललितपुर महानगरपालिकाले तोकिएकै समयमा तार व्यवस्थापन गरेको भन्दै इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुको प्रशंसा गरेको छ।आईएसपीहरुले तोकिएको समय भन्दा अगाडि नै तार व्यवस्थापनको काम सकेको भन्दै उनीहरुलाई धन्यवाद दिएको हो।
महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक प्रेस विज्ञप्तीमार्फत सहरलाई असुरक्षित बनाउने र सहरको सुन्दरतामा नै आँच पुग्ने गरी टाँगिएका तार व्यवस्थापन गर्न ललितपुर महानगरले गरेको प्रारम्भिक प्रयास सफल भएको उल्लेख गर्दै उनले आइएसपीहरुको प्रशंसा गरेका हुन्। फलस्वरुप अव्यवस्थित तारको व्यवस्थापन भएको र तार व्यवस्थापनपछि ती क्षेत्र सफा र सुन्दर देखिएको बताईएको छ।
“पहिलो चरणमा महानगरभित्रका चारवटा अशोक स्तुपा क्षेत्रमा टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र श्री रातो मछिन्द्रनाथको रथ निर्माण गर्ने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन (आइएसपिए)को जिम्मेवारीमा दश दिन भित्र व्यवस्थापन गर्ने निर्णय भएको थियो । ती क्षेत्रको तार व्यवस्थापन गर्न दश दिनको समय अवधि तोकिएको थियो। ललितपुर महानगरपालिकाको नगर प्रहरीसहित आइएसपिएले तोकिएको समय भन्दा तीन दिन अघि नै अर्थात एक सातामा तार व्यवस्थापनको काम सम्पन्न गरेको छ,” प्रेस विज्ञप्तीमा भनिएको छ।
यसअघि ललितपुर महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापनका लागि सरोकारवालाहरुसँग बैठक आयोजना गरेको थियो । र उक्त बैठकको निर्णय अनुसार नै काम शुरु गरिएको थियो।
यसैगरी महानगरपालिकालाई बस्नयोग्य, सुरक्षित स्मार्ट सहर बनाउने अभियान अन्तर्गत तार व्यवस्थापनका लागि खटनु भएका आइएसपिएका प्रतिनिधि, ललितपुर महानगरका नगरप्रहरीलगायत सबैमा धन्यवाद दिएका हुन् ।
यसका साथै उनले महानगरको अन्य क्षेत्रमा अव्यवस्थित तार अझै बाँकी रहेकाले पुनः बैठक बसी तारहरुको व्यवस्थापनको कार्यतालिका बनाई क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार