नेपाल टेलिकमले भन्यो- ‘हाम्रा उपकरण र संरचनामाहरुमा क्षति पुर्याउने क्रम बढ्यो’

Technology Khabar ३० फाल्गुन २०७९, मंगलवार

नेपाल टेलिकमले भन्यो- ‘हाम्रा उपकरण र संरचनामाहरुमा क्षति पुर्याउने क्रम बढ्यो’
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना सेवामा प्रयोग भएका उपकरणहरुमा क्षति हुने क्रम बढेको भन्दै चिन्ता जाहेर गरेको छ।

कम्पनीले विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुगी सेवा प्रवाहमा आउने समस्याको बारेमा समेत चेतावनी दिएको छ।

नेपाल टेलिकमले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको र यसका लागि सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि ती उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहनु आवश्यक हुने बताएको छ।

“तर पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको छ। यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको छ। यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ,” कम्पनीको विज्ञप्तीमा भनिएको छ।

टेलिकमले यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्न समेत अनुरोध गरेको छ।

‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्त हुने कम्पनीले अपेक्षा गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया