
काठमाडौं ।
एप्पलको स्मार्टफोन र ट्याब्लेटहरूको लागि रहेको नेक्स्ट–जेनेरेसनको एप्पल एसओसीको प्रदर्शनको बारेमा नयाँ लीकले भर्खरै जानकारी दिएको छ।
३ एनएम प्रक्रियामा आधारित हुने नयाँ ए१७ बायोनिकको गीकबेन्च स्कोरहरू भर्खरै खुलासा गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
ए१७ बायोनिक ल्याटेस्ट गीकबेन्च ६ बेन्चमार्किङ प्लेटफर्ममा देखा परेको भनी एक ज्ञात प्राविधिक युट्युबर म्याक्स टेकले बताएका छन्। आगामी ए१७ बायोनिकले आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स जस्ता डिभाइसहरूलाई पावर दिने र टीएसएमसीको ३ एनएम प्रक्रियामा आधारित हुने उल्लेख गरिएको छ। साथै यस नयाँ अत्याधुनिक प्रक्रियाले आगामी ए१७ बायोनिक एसओसीलाई थप ऊर्जा दक्ष बनाउनुका साथै समग्रमा सुधारिएको कार्यसम्पादन पनि प्रदान गर्ने बताइएको छ।
यद्यपि, एडभान्स्ड सेमिकन्डक्टर फ्याब्रिकेसन (उन्नत अर्धचालक निर्माण) प्रविधिकको उत्पादनको लागत पनि उच्च हुने बताइउको छ। उत्पादनको उच्च लागतका कारणले गर्दा कपर्टिनो बेस्ड जायन्टले आईफोन १५ प्रो मोडेलहरूको लागत बढाउन सक्ने सम्भावना रहेको उललेख गरिएको छ।
बेन्चमार्क स्कोरहरू हेर्दा, ए१७ बायोनिकले आफ्नो सिङ्गल कोर परीक्षणमा ३९८६ अंक र गीकबेन्च ६ मल्टि कोर परीक्षणहरूमा ८८४१ अंक प्राप्त गर्न सफल भएको छ। साथै यस चिपसेट धेरै प्रभावशाली हुनुका साथै चिपसेटले लगभग म्याकबुकले प्रदान गर्ने प्रदर्शनलाई ठक्कर दिएको बताइएको छ।
यस चिपसेटको तुलनामा, ए१६ बायोनिक समावेश गरिएको आईफोन १४ प्रोले सिङ्गल कोर र मल्टि कोर परीक्षणमा क्रमशः २५०४ अंक र ६३१४ अंक हासिल गरेको छ।
नयाँ ए१७ बायोनिकले सिङ्गल कोरको प्रदर्शनमा करिब ६० प्रतिशत बुस्ट प्रदान गरेको र यसको पूर्ववर्ती भन्दा ४० प्रतिशत मल्टि कोरको कार्यसम्पादन अपग्रेड प्रदान गरेको बताइएको छ।
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार