‘उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गराईनुपर्छ’- सञ्चार मन्त्री शर्मा

  • Technology Khabar | २६ फाल्गुन २०७९, शुक्रबार
‘उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गराईनुपर्छ’- सञ्चार मन्त्री शर्मा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गराईनुपर्ने बताएकी छन्।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको प्रयोग अत्यधिक बढे पनि यससम्बन्धी आवश्यक ज्ञान, सीप र सचेतना नहुँदा प्रविधिको दुरुपयोग बढ्न थालेकाले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने आवश्यकता देखिएको बताईन्।

संसारभरि बनेका प्रविधि नेपालमा प्रयोग गरिए पनि यसको प्रयोगसम्बन्धी नीति र कानुनको अभाव देखिएकाले आफ्नो मन्त्रालयले कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको पनि उनले बताइन् ।

‘साइबर सुरक्षासम्बन्धी नीति २०७६ मा बनाएर २०७८ मा संसदमा पठाइएको रहेछ तर नयाँ चुनावसँगै पुरानो विधेयक निष्कृय भयो’, उनले भनिन्, ‘अहिले साइबर सुरक्षा नीति बनाउने कार्यलाई तिब्रताका साथ अघि बढाइएको छ, यो पारित भयो भने साइबर सुरक्षा कानुन बनाउने बाटो खुल्नेछ।’

सामाजिक सञ्जालमा के राख्न हुन्छ के हुँदैन भन्ने सचेतनाको अभावमा हिंसाका घटनामा बृद्धि हुँदै जानु चुनौतीको रुपमा रहेको औल्याउँदै मन्त्री शर्माले संविधान र कानुनमा उल्लेख भएका व्यवस्थालाई जनजनमा पुर्याउन प्रविधिको प्रयोग बढाउनुपर्ने बताईन्।

प्रविधिको प्रयोगमा महिलाको पहुँच बढाउँदै यसको माध्यमबाट महिलाको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने पनि उनले बताईन्। ‘प्रविधिको प्रयोगमा महिला पुरुषको अवस्था के छ यसबारे तथ्यांक निकालेर पहुँच बढाउनेतिर ध्यान दिनुपर्छ,’ मन्त्री शर्माले भनिन्, ‘तल्लो तहमा भएका महिलालाई माथि ल्याउने र माथि पुगेका महिलालाई पुरुषसँग प्रतिष्पर्धा गर्नसक्ने बनाउन पनि प्रविधिको प्रयोग गर्न आवश्यक छ।’

अहिले महिला मन्त्रीले प्रविधि मन्त्रालय सम्हालेको समयमा केही शुरुवात गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले यसमा आवश्यक सल्लाह सुझाव दिन आम महिलाहरुलाई आग्रह गरिन्। नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले सूचना प्रविधिमा महिलाको सहभागिता र पहुँच बढाउन के गर्नुपर्छ आवश्यक सुझावका लागि उनले सबैसँग आग्रह गरिन्।

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...