
काठमाडौं ।
प्योर ईभीको इलेक्ट्रिक बाइक ईकोड्रिफ्ट नेपाल आउने भएको छ। प्योर ईभीको इलेक्ट्रिक बाइक ईकोड्रिफ्ट नेपाल ल्याउन तयारी शुरु गरिएको ह्वाइट लोटसका प्रबन्ध निर्देशक अशोक खड्कीले जानकारी दिए।
भारतीय ब्राण्ड प्योर ईभीका लागि ह्वाइट लोटस नेपालको आधिकारिक वितरक हो।
‘ईकोड्रिफ्ट भारतमा भर्खर डेलिभरी शुरु भएको छ। नेपालमा पनि हामीले उपलब्ध गराउने तयारीमा छौं,’ प्रबन्ध निर्देशक खड्कीले भने, ‘नयाँ वर्षसम्ममा केही सिमित संख्यामा भए पनि ईकोड्रिफ्ट ल्याउने छौं।’
प्योर ईभीले ईकोड्रिफ्ट इलेक्ट्रिक बाइक गत महिना ९९ हजार ९९९ भारु एक्स शोरुम मूल्यमा सार्वजनिक गरेको थियो।
ईकोड्रिफ्टले सिंगल चार्जमा १३५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
नयाँ प्योर ईभी इकोड्राइफ्टमा एआईएस १५६ सर्टिफाइड ३.० किलोवाट आवरको ब्याट्री छ। मोटरसाइकलमा दिइएको ३ किलोवाटको इलेक्ट्रिक मोटरले ७५ किलोमिटर प्रति घण्टाको अधिकतम गति प्रदान गर्ने बताइएको छ।
डिजाइनको हिसाबले, ईकोड्रिफ्ट एक आधारभूत कम्युटर मोटरसाइकल हो जसमा एङ्गुलर हेडल्याम्प, पाँच–स्पोक एलोय ह्वील, सिंगल–पीस सिट लगायत फिचरहरु छन्। यो इलेक्ट्रिक मोटरसाइकल ४ कलर भेरियन्ट कालो, खैरो, निलो र रातोमा उपलब्ध छ।
प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार