सरकारले करिब १० करोड रुपैयाँ खर्चिए, प्रधानमन्त्री दाहालले हाइड्रोजन गाडी चढ्न पाउने

  • Technology Khabar | २४ फाल्गुन २०७९, बुधबार
सरकारले करिब १० करोड रुपैयाँ खर्चिए, प्रधानमन्त्री दाहालले हाइड्रोजन गाडी चढ्न पाउने

काठमाडौं ।

– निर्दोष घोरसाइने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्ने क्रममा आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी चढ्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल भइरहेको र छिट्टै चढ्ने तयारी भइरहेको उल्लेख गरे। यसले सामाजिक संजालमा पनि निकै चर्चा पायो। कतिले यसलाई पूर्व प्रधामन्त्री डा बाबुराम भट्टराईले मुस्ताङ म्याक्स चढे जस्तै स्टन्ट हुने समेत बताए।

सम्बन्धित समाचार-

‘अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु’- प्रधानमन्त्री दाहाल

तर प्रधानमन्त्रीको यो अभिव्यक्ति हचुवाको भरमा आएको भने हैन। नेपाल आयल निगमको सहकार्यमा काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन इन्धनको व्यावसायिकरुपमा हाइड्रोजन इन्धन उत्पादन गर्ने प्रारम्भिक चरणको अध्ययन पुरा भएपछि आएको जानकारहरु बताउँछन्।

काठमाडौं विश्वविद्यालय (केयु)को ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर उपप्राध्यापक डा. बिराट सिंह थापा काठमाडौं विश्वविद्यालय भित्र हाइड्रोजन रिफिलिङ स्टेशनको नमुना परीक्षण केन्द्र स्थापना गरेर पाइलट परियोजनाका रुपमा हाइड्रोजन कार चलाउन सकिने अवस्था तयार भइसकेको बताउँछन्।

परीक्षण हाइड्रोजन रिफिलिङ स्टेशन निर्माण गर्न केयुले विद्युत प्राधिकरणसँग प्रस्ताव गरेको थियो। साथै केयुले हाइड्रोजन इन्धन सवारीलाई प्रबर्द्धन गर्नका लागि प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङलाई हाइड्रोजन सवारी प्रयोग गर्न पनि प्रस्ताव गरेको थियो।

तर कुलमानले आफूले नेपालमै पहिलो पटक हाइड्रोजन सवारी प्रयोगकरेमा स्वार्थ देखिने र प्रधानमन्त्रीले नै चढ्दा सकारात्मक सन्देश जाने बताएका थिए। घिसिङले उक्त विषय प्रधानमन्त्रीलाई जानकारी गराएको भएर प्रधानमन्त्रीबाट सो किसिमको अभिव्यक्ति आएको हुनसक्ने डा. थापाको बुझाइ छ।

‘हाइड्रोजन इन्धन उपयोग गर्न सक्ने अवस्थामा हामी पुगिसकेका छौं। हामी हाइड्रोजन इन्धनको परीक्षणको संघारमा थियौं,’ डा. थापाले टेक्नोलोजीखबरसँग भने, ‘प्रधानमन्त्री स्वयमले हाइड्रोजन गाडी चढ्छु भनेपछि हामीले गरिरहेको काम यथाशीघ्र अघि बढाउन हौसला प्राप्त भएको छ।’

प्रधानमन्त्रीको चाहना कतिको सम्भव ?

हाइड्रोजन इन्धनको उत्पादन र परीक्षण प्रयोग तथा थप अनुसन्धानका लागि केयु भित्र हाइड्रोजन रिफिलिङ स्टेशन निर्माण गर्नका लागि प्राधिकरणसँग प्रस्ताव गरेको हो। प्राधिकरणले हाइड्रोजन रिफिलिङ स्टेशन निर्माण गर्न सहयोग गरे प्रधानमन्त्रीको चाहना पुरा हुने डा. थापाले विश्वास व्यक्त गरे।

केयुले अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि हाइड्रोजन रिफिलिङ स्टेशन निर्माणमा प्राधिकरणको सहयोगको अपेक्षा राखेको छ।
केयुमा निर्माण हुने हाइड्रोजन रिफिलिङ स्टेशन अनुसन्धानका लागि भएकाले व्यवसायिक प्रयोजनका लागि उपयुक्त नहुन सक्छ। तर हाइड्रोजन इन्धनको अध्ययन तथा अनुसन्धानका साथै प्रबर्द्धनको पनि खाँचो छ।

यस्तोमा प्रधानमन्त्रीले हाइड्रोजन सवारी प्रयोग गरेको खण्डमा रिफिलिङको सुविधा उपलब्ध गराउन सकिने थापाको भनाइ छ। प्रबर्द्धनका लागि शुरुवाती चरणमा निजी सवारीलाई हाइड्रोजन रिफिलिङको सुविधा गर्न सकिने उनले बताए।

‘हाइड्रोजन इन्धन उत्पादन गर्ने परीक्षण कार्य सकिएको छ, अब हाइड्रोजन कार चलाउनका लागि हाइड्रोजन रिफिलिङ स्टेशनको आवश्यकता छ,’ डा. थापाले टेक्नोलोजिखबरसँग भने, ‘हाइड्रोजन स्टेशन तयार गर्न सकिए तत्काल नेपालमा हाइड्रोजन सवारी सञ्चालन गर्न सम्भव छ।’

हाइड्रोजन सवारी सञ्चालनका गर्नका लागि मुख्यरुपमा हाइड्रोजन इन्धन, हाइड्रोजन रिफिलिङ सेन्टर र हाइड्रोजन सवारी आवश्यक पर्छ। हालको अवस्थामा उपलब्ध प्रविधिमै हाइड्रोजन उत्पादन गर्न सम्भव छ। रिफिलिङ सेन्टर र हाइड्रोजन सवारीको व्यवस्था गर्न सकिए पाइलट परियोजनाको रुपमा हाइड्रोजन सवारी सञ्चालन गर्न सकिने थापाको भनाई छ।

जापान, दक्षिय कोरिया, जर्मनी, चीन लगायतका केही देशका सवारी उत्पादकहरुले हाइड्रोजन सवारी निर्माण गर्नुका साथै त्यसको विकास गरिरहेका छन्। ती मुलुकबाट सवारी आयात गरेर चलाउन सकिने संभावना छ। हाइड्रोजन सवारी सञ्चालन गर्नका लागि पहिलो प्राथमिकता भनेको रिफिलिङ स्टेशन नै हो।

व्यावसायिकरुपमा कति सम्भव?

नेपालमै उत्पादन हुने विद्युतको प्रयोगबाट हाइड्रोजन इन्धन तयार गर्न सकिन्छ। केयुले हाइड्रोजन इन्धन परीक्षणको रुपमा उत्पादन गरिसकेको छ। हाइड्रोजन इन्धनको व्यावसायिक विस्तारमा आवश्यक पूर्वाधारको अभाव रहेको डा. थापा बताउँछन्। व्यावसायिक रुपमा अघि बढ्न विद्युत बाहेक सबै उपकरण बाहिरबाट खरिद गर्नुपर्ने हुन्छ। यसले गर्दा शुरुवाती चरणमा हाइड्रोजन इन्धन महँगो पर्न जान्छ। अन्तर्राष्ट्रिय बजारमा हाइड्रोजन इन्धन प्रति किलोग्राम करिब ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

हाइड्रोजन इन्धनको उत्पादन र माग कम हुँदा महँगो मूल्यमा बिक्री भइरहेको छ। माग र उत्पादन बढेसँगै हाइड्रोजन इन्धन पनि पेट्रोलियम पदार्थकै मूल्यको हाराहारीमा उपलब्ध हुने उनले विश्वास व्यक्त गरे।

हाइड्रोजन इन्धनको व्यवसायिक वितरणका लागि आवश्यक मापदण्ड पनि बनाउनुपर्ने हुन्छ। हाइड्रोजन पेट्रोलियम पदार्थभन्दा पनि अधिक संवेदनशिल हुन्छ। हाइड्रोजन रिफिलिङ स्टेशनको सुरक्षा, रिफिलिङको वर्गिकरण, स्टेशनको प्रति दिन क्षमता, मूल्य कति राख्नेलगायत मापदण्ड तयार गर्नुपर्ने हुन्छन्।

साथै व्यावसायिक प्रयोजनका लागि रिफिलिङ स्टेशन निर्माण गर्न जग्गाका साथै बजेट पनि आवश्यक छ। यसका लागि सरकारले सहजिकरण गर्नुपर्ने थापाको सुझाब छ। केयुले हाइड्रोजन इन्धनलाई व्यावसायिक रुपमा कसरी अघि बढाउन सकिन्न भन्ने प्रस्ताव नेपाल विद्युत प्राधिकरणलाई पेश गरिसकेको छ।

डा. थापाका अनुसार हाइड्रोजन इन्धनलाई व्यावसायिकरुपमा अघि बढाउनका लागि पहिलो चरणमा काठमाडौं उपत्यकामा एउटा हाइड्रोजन रिफिलिङ सेन्टर स्थापना गर्नु पर्ने हुन्छ। हाइड्रोजन इन्धनको अध्ययन अनुसन्धानका लागि केयुको टोली जापान भ्रमणमा पनि गएको थियो। जापानको अनुभव र नेपालमा गरिएको परीक्षण अनुसार तत्काल दैनिक १० ओटा हाइड्रोजन सवारीलाई इन्धन आपूर्ति गर्न सकिने रिफिलिङ स्टेशन निर्माण गर्नुपर्ने देखिएको छ।

जापानमा उत्पादन भइरहेका हाइड्रोजन कारमा एक पटकमा ५ देखि ६ किलोग्राम हाइड्रोजन रिफिलिङ गर्न सकिन्छ। यसबाट १३ सय ६० किलोमिटरसम्मको रेञ्ज प्राप्त हुन्छ। हाइड्रोजन सवारी काठमाडौं उपत्यकामा मात्र सञ्चालन गर्ने हो भने एक पटक रिफिल गरेपछि दुईदेखि तीन हप्ता पछि मात्र इन्धनको आवश्यकता पर्नेछ।

विश्वमै हाइड्रोजन इन्धन नयाँ प्रविधि भएकाले तत्कालका लागि नेपालमा एउटा रिफिलिङ स्टेशनबाट शुरुवात गर्न सकिन्छ। आगामी दिनमा प्रविधिको विकाससँगै आवश्यकताको आधारमा अन्य क्षेत्रमा पनि रिफिलिङ स्टेशन थप गर्दै जान सकिन्छ।

बजेट र मापदण्ड तयार भए तीन महिनामा हाइड्रोजन सवारी चल्ने

केयुले प्रस्ताव गरेको हाइड्रोजन रिफिलिङ स्टेशन कस्टमाइज स्ट्यान्डर्ड डिजाइनको हो। कोरिया, जापान, चीन लगायतका मुलुकबाट कस्टमाइज डिजाइनका रिफिलिङ स्टेशन सहजरुपमा किन्न सकिन्छ। यसका लागि बजेटको अभाव छ। सरकारले बजेट विनियोजन गरेर तत्काल खरिद प्रक्रिया अघि बढाए तीन महिना भित्रमा हाइड्रोजन इन्धन रिफिलिङ स्टेशन तयार हुने उनको दाबी छ।

कस्टमाइज डिजाइनका रिफिलिङ स्टेशन खरिद गर्न करिब १० करोड रुपैयाँ लाग्ने उनको अनुमान छ। रिफिलिङ स्टेशन स्थापनासँगै सरकारले व्यावसायिक बिक्री वितरणका लागि आवश्यक मापदण्ड पनि बनाउनु पर्छ। सरकारले आवश्यक लगानी सहयोग गरेमा र सबै तयार गरिएको खण्डमा प्रधानमन्त्रीले भने झैं हाइड्रोजन इन्धन सवारी चलाउन सम्भव हुनेछ।

हाइड्रोजन कहाँ उत्पादन हुन्छ ?

सानो परिमाणमा रिफिलिङ स्टेशनमै हाइड्रोजन इन्धन उत्पादन गरिने डा. थापा बताउँछन्। यसका लागि रिफिलिङ स्टेशनमा अन्डरग्राउन्ड च्याम्बर हुन्छ। अन्डरग्राउन्ड चेम्बरमा रहेको १० देखि २० मिटर क्यूबको ट्यांकमा हाइड्रोजन उत्पादन गरेर भन्डारण गरिन्छ। शुरुवाती दिनमा थोरै मात्रामा हाइड्रोजन इन्धन आवश्यक पर्ने भएकाले रातमा खेर जाने विद्युतलाई हाइड्रोजनमा परिणत गरिन्छ। राती उत्पादन गरेर भन्डार गरिएको हाइड्रोजन दिउँदो सवारीसाधनमा रिफिलिङ गरिन्छ। ठूलो रिफिलिङ स्टेशनको हकमा भने अन्यत्रबाट हाइड्रोजन उत्पादन गरेर ढुवानी गर्नुपर्ने हुन्छ।

के हो हाइड्रोजन कार?

हाइड्रोजन कारलाई इन्धन सेल वा फ्यूलसेल सवारीको रूपमा पनि चिनिन्छ। हाइड्रोजन कारले हाइड्रोजन ग्यासलाई प्राथमिक इन्धन स्रोत र इलेक्ट्रिक मोटरलाई शक्तिको रूपमा प्रयोग गर्दछ। हाइड्रोजन इन्धन एक उच्च–दबाव ट्यांकमा भण्डारण गरिन्छ, र इन्धन सेल सिस्टमले हाइड्रोजनलाई बिजुलीमा रूपान्तरण गर्दछ, जसले गाडीको मोटरलाई शक्ति दिन प्रयोग गरिन्छ।

हाइड्रोजन ग्यासलाई फ्युल सेल मार्फत बिजुलीमा रूपान्तरण गर्ने प्रक्रियाले उप–उत्पादनको रूपमा पानी बाफ र ताप उत्पन्न गर्छ। जलवायू परिवर्तनसँग लड्नका लागि हाइड्रोजन कारलाई भविष्यको सवारीको रुपमा हेरिने गरिएको छ।

हाइड्रोजन कारहरू विद्युतीय कारहरू जस्तै हुन्छन्। हाइड्रोजन कारमा पनि इलेक्ट्रिक मोटरको प्रयोग हुन्। तर यसले रिचार्ज गर्न आवश्यक ब्याट्रीबाट आफ्नो शक्ति लिनुको सट्टा, तिनीहरूले हाइड्रोजन ग्यासबाट बिजुली उत्पादन गर्न इन्धन सेल प्रयोग गर्छन्। यसले तिनीहरूलाई ब्याट्री इलेक्ट्रिक कारहरू भन्दा सम्भावित रूपमा अधिक कुशल र सुविधाजनक बनाउँछ। किनभने हाइड्रोजन कारमा केही मिनेटमा इन्धन भर्न सकिन्छ र यसको ड्राइभिङ रेञ्ज पनि लामो हुन्छ। हाइड्रोजन कारहरू अझै पनि अपेक्षाकृत नयाँ प्रविधि हुन्। हाइड्रोजन इन्धनको उत्पादन र वितरणको लागत उच्च छ। विश्वमै हाइड्रोजन इन्धन पूर्वाधारको उपलब्धता सीमित रहेकाले यसमा धेरै चुनौतीहरू सामना गर्छन्।

नेपालमा पूर्वाधार नभएको हुँदा तत्काल हाइड्रोजन कार चलाउन नसकिने  विद्युतीय सवारी प्रबर्तक पूर्ण रंजितकारको भनाई छ।

‘यहाँ पूर्वाधार नै छैन्।अहिले हाइड्रोजन प्रविधि विकासको क्रममा नै छ। विकसित मुलुकहरुले पनि पूर्णरुपमा अपनाईसकेका छैनन्,’ उनले भने,’ भविश्यमा भने प्रविधिको विकाससँगै आउन सक्छ।’

कति पर्ला हाइड्रोजन गाडीको मूल्य ?

हाइड्रोजन इन्धनयुक्त सवारी हालका परम्परागत पेट्रोल–संचालित सवारी वा ब्याट्री इलेक्ट्रिक सवारीहरू भन्दा महँगो छन्। नयाँ हाइड्रोजन इन्धन सेल गाडी हुन्डाई, होण्डा, टोयोटा, बीएमडब्ल्यू लगायतले उत्पादन तथा विकास गरिरहेका छन्। हाइड्रोजन इन्धन सवारीको मूल्य मोडेल र फिचरको आधारमा ५० हजार अमेरिकी डलर माथि छ।

भारतको दिल्ली अटो शोमा प्रदर्शन गरिएको टोयोटाको मिराई सेडानको मूल्य करिब ६० लाख भारु पर्ने अनुमान गरिएको थियो। सोही आधारमा हेर्दा सरकारले पूर्ण कर छुट दिएमा पनि नेपाल आउँदा करिब १ करोड रुपैयाँ पर्नेछ।

हाइड्रोजन इन्धन सेल सवारी अझै पनि विश्वका धेरै भागहरूमा व्यापक रूपमा उपलब्ध छैनन्। तिनीहरू हाल सिमित क्षेत्रहरूमा मात्र उपलब्ध छन् जहाँ तिनीहरूलाई समर्थन गर्न पूर्वाधारहरू छन्, जस्तै संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, युरोपका केही क्षेत्रहरू र एशियाका केही भागहरूमा मात्र।

यद्यपि, अटोमेकरहरूले हाइड्रोजन फ्युल सेल टेक्नोलोजीमा लगानी र विकास गर्न जारी राखेका छन्, र भविष्यमा उपलब्धता बढ्न सक्ने यो सम्भव छ। किनकि थप पूर्वाधारहरु निर्माण भईरहेका छन् र अधिक अटोमेकरहरूले हाइड्रोजन इन्धनसेल वाहनहरू बजारमा ल्याउँदैछन्।

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार