
काठमाडौं ।
शाओमीको अटोमोटिभ व्यवसाय अपेक्षा भन्दा छिटो गतिमा अघि बढिरहेको बताइएको छ। विन्टर टेस्ट (जाडोको परीक्षण) सफलतापूर्वक समाप्त भएको र शाओमीको पहिलो कार निर्माणको टोली द्रुत गतिमा बढिरहेको र अपेक्षित भन्दा छिटो कार्यहरू पूरा गरिरहेको कम्पनीका संस्थापक, अध्यक्ष र सीईओ लेई जुनले पुष्टि गरेका छन्।
सबै कुरा योजना अनुसार चल्ने र मास प्रोडक्सन (ठूलो उत्पादन) सम्भवतः २०२४ को पहिलो अर्ध वार्षिकमा शुरु हुने लेई जुनले बताएको जीएसएमएरिनामा उल्लेख गरिएको छ। हालसम्म, कम्पनीले आफ्नो अटोमोटिभ व्यवसायमा ४३३ मिलियन अमेरिकी डलर भन्दा बढी लगानी गरेको र २,३०० भन्दा बढी व्यक्तिहरूको टोली रहेको छ भने निरन्तर रुपमा बढिरहेको उनले बताए।
साथै यस वर्ष लगानीको नयाँ राउन्ड २.८ बिलियन अमेरिकी डलर भन्दा बढी हुने अपेक्षा गरिएको छ भने आगामी पाँच वर्षमा १४ बिलियन अमेरिकी डलर थप हुने उल्लेख गरिएको छ।
कम्पनीको (इन्भेस्टर डे) लगानीकर्ता दिवसको अवसरमा कम्पनीका सीईओले शाओमीले रोबोटिक्समा पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन्। यस्तो प्रविधिको विकासले कारहरूको सेल्फ–ड्राइभिङ क्षमताहरूलाई गति दिने र त्यसले उत्पादन प्रक्रियालाई पनि थप गति दिने सीईओ लेई जुनले बताएका हुन्।
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार