Technology Khabar २२ फाल्गुन २०७९, सोमबार
काठमाडौं ।
फागु पूर्णिमा अर्थात होली पर्व । यो दिनलाई रंगहरुको उत्सव भने चिनिन्छ। जसमा रंग र पानीको निकै प्रयोग हुने गर्दछ। सोमबार पहाडी क्षेत्र तथा काठमाडौं उपत्यकामा र मंगलबार तराई भेगमा होली खेल्ने गरिन्छ।
तर होली खेल्दा आफ्नो महत्वपूर्ण डिभाइस/मोबाइल फोन वा स्मार्टफोनलाई कसरी बचाउने भन्ने चिन्ता सबैलाई हुन्छ।
होली खेल्दै फोटो तथा भिडियो बनाउन चाहनेहरु अधिकांश हुन्छन तर त्यसको सुरक्षा गर्न सकिएन भने पानी पसेर समस्या दिन्छ। होलीमा रङ तथा पानीसँग खेलेर रमाइलो गर्ने क्रममा मोबाइलमा रङ, अबिर, तथा तरल पदार्थ पसेमा समस्या हुन सक्छ।
पहिलो त पानी पसिहाले पनि सुरक्षाका उपाय अपनाई मोबाइलमा हुन सक्ने खराबी केही हदसम्म घटाउन सकिन्छ। फागु खेल्दा मोबाइल, ट्याब्लेटलगायत उपकरण बचाउने सरल उपायहरुको अबलम्बन गरेर सुरक्षित हुन सकिन्छ।
जीपर व्याग वा वाटर प्रुफ ब्याग
फागु मनाउँदा मोबाइललगायत साधनको सुरक्षाका लागि प्लाष्टिक ब्यागको प्रयोग गर्नु बेश हुन्छ। बजारमा पाइने जीपर ब्याग यसका लागि निकै उपयुक्त हुन्छ । यो उपलब्ध नभएमा सहजै घर घरमा पाइने पोलिथिन ब्यागको प्रयोग गर्न पनि सकिन्छ । अहिले बजारमा फोनकै लागि युनिभर्सल वाटर प्रूफ प्लाष्टिक ब्याग पनि उपलब्ध छन् ।
वाटर प्रुफ कभर
महँगो मोबाइलमा वाटरप्रुफ कभर हुने गर्दछ। मोबाइल एसेसरिज पसलहरूमा गएर आफ्नो मोबाइलमा उपयोगी वाटरप्रुफ कभर पनि लगाउन सकिन्छ। कम मूल्यमा पाईने यस्ता एसेसरिजले महंगो मोबाइलको सुरक्षा गर्न सक्छ।
बेलुनबाट रबर कोटिङ
मोबाइललाई बेलुनले बेरेर पनि सुरक्षित गर्न सकिन्छ। यसका लागि शुरूमा बेलुनमा हावा भर्ने, त्यसपछि बेलुनको माथि मोबाइल राखेर विस्तारै थिच्दै जाने । बेलुन नफुट्ने गरी विस्तारै थिच्दै जाने र हावा पनि फुस्काउँदै जाने। यस्तो गर्दा अन्त्यमा मोबाइलको स्क्रिनबाहेक सबै भाग बेलुनले छोपिन्छ। यसले तपाईँको मोबाइलमा पानी वा रंग पस्ने संभावना कम हुन्छ।
ब्लुटुथ वा एयरफोनको प्रयोग
होलीमा रङ, लोला, पिचकारीबाट पानी छ्यापिने हुँदा मोबाइललाई गोजीबाट बाहिर ननिकाल्नु नै राम्रो हुन्छ। ब्लुटुथ वा एयरफोनको प्रयोग गर्दा मोबाइलमा पानी पस्ने सम्भावना कम हुन्छ। अन्य बेला यी सामग्री बोक्न झ्याउ लाग्ने भए पनि होलीमा साथै लिएर प्रयोग गर्दा पानी, रङलगायतबाट बच्न सकिन्छ। प्लाष्टिकले मोबाइललाई बेरेर ब्लुटुथ वा एयरफोन प्रयोग गरे अझ सुरक्षित हुन्छ।
वाटरप्रुफ स्प्रे कोट
बजारमा बिभिन्न ब्रान्डका वाटरप्रुफ स्प्रे उपलब्ध हुन्छन् । उक्त स्प्रे फोनमा छर्किए ६ देखि १२ महिनासम्म फोन वाटरप्रुफ हुन्छ । यसले गर्दा होलीमा पानीको प्रयोग भए पनि मोबाइल सुरक्षित रहन्छ ।
सामान्य प्लास्टिक कभर
कम खर्चमै यो समस्या समाधान गर्नु छ भने सामान्य प्लास्टिकले बनेको कभर ब्याग प्रयोग गर्न सकिन्छ। प्लास्टिकबाट बनेका जिप प्याक बजारमा प्रसस्त उपलब्ध छन्। यस्ता प्याकमा पानीका साथै अन्य कुनै तरल पदार्थ पस्दैन ।
वाटर प्रुफ मोबाइल फोनको प्रयोग
बजारमा अहिले प्रसस्त वाटर प्रुफ मोबाइल फोन पनि उपलब्ध छन्। यस्ता मोबाइल सेटमा हल्काफुल्का वर्षा वा सामान्य पानी पर्दा पनि कुनै समस्या हुदैन। केहि महंगा मोबाइल फोन सेटहरु निश्चित तहसम्म वाटर रेसिष्ट वा वार प्रुफसहित बजारमा उपलब्ध छन् ।
डिफल्ट कल सेटिङ्ग
आफु फागु खेल्दा पानीमा भिजिरहेको बेला वा फोन रिसिभ गर्न नसकिने अवस्थामा फोन उठाउनु भन्दा कल काटेरपछि कल ब्याक गर्ने वा डिफल्ट कलमै म्यासेज जाने ब्यबस्था गर्न सकिन्छ। फोन काट्दा स्वचालितरुपमै कलरको मोबाइलमा जान्छ, जसले गर्दापछि कल गर्न सकिन्छ अथवा फेरी पछि उसले कल गर्न सक्छ।
यी उपायहरु अपनाउँदा तपाईँको मोबाइल फोनलाई पानी तथा रंगबाट बचाउन सकिन्छ।
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार