
काठमाडौं ।
आजकलका प्राय टेक कम्पनीहरूले जस्तै शाओमीले पनि मोबाइल उपकरणहरू र ईभीको लागि प्रयोग गर्न सकिने सोलिड स्टेट ब्याट्रीहरू विकास गर्न काम गरिरहेको छ। यसैबीच चिनियाँ टेक जायन्टले १,०००डब्लुएच/आई इनर्जि डेन्सिटि (ऊर्जा घनत्व) हासिल गर्दै ठूलो उपलब्धि हात लागेको बताएको छ। साथै उक्त इनर्जी डेन्सिटी धेरैजसो इभीले प्रदान गर्ने ऊर्जा घनत्व भन्दा दोब्बर बढी भएको जिएसएमएरिनामा उल्लेख गरिएको छ।
नयाँ प्रविधिले आधुनिक लिथियम ब्याट्रीको धेरै समस्याहरू समाधान गर्ने बताईएको छ। सुधारिएको ऊर्जा घनत्व बाहेक सोलिड–स्टेट ब्याट्रीहरूले कम तापमानमा पनि राम्रो प्रदर्शन गर्ने बताइएको छ। शाओमीले माइनस २० डिग्री सेल्सियसमा लगभग २० प्रतिशत सुधारिएको दक्षताको दाबी गरेको छ। साथै लिक्विड इलेक्ट्रोलाइट्सको कमीको कारण पङ्क्चर हुँदा विस्फोट नहुने भएकाले सोलिड–स्टेट ब्याट्रीहरू सुरक्षित हुने थप उल्लेख गरिएको छ।
त्यसैगरी इन्जिनियरहरूले सोलिड इलेक्ट्रोलाइट सेरामिकको साथ पोजिटिभ इलेक्ट्रोड कोटिङ्ग गरेर स्थायित्व सुधार गरेको उल्लेख गरिएको छ।
शाओमीले उक्त प्रोटोटाइप शाओमी १३ स्मार्टफोनमा परीक्षण गरेको र सानो ह्यान्डसेट भित्र ६,००० एमएएच युनिट क्र्याम गर्न सक्षम भएको बताइएको छ।
सामान्यतया अत्याधुनिक प्रविधिको मामलामा उक्त ब्याट्रीहरूलाई वृहत मात्रामा उत्पादन गरी तिनीहरूलाई आर्थिक रूपमा व्यवहार्य बनाउनु वास्तविक चुनौती हुने बताइएको छ। शाओमीले अझै पनि लामो यात्रा तय गर्न बाँकी रहेको र कम्पनीले वर्तमान गतिलाई कायम राखेको खण्डमा आगामी वर्षहरूमा सोलिड–स्टेट ब्याट्रीद्वारा संचालित शाओमी निर्मित इभी बजारमा देख्न सकिने अपेक्षा गरिएको बताइएको छ।
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार