एमेच्योर रेडियो कन्ट्रोल अपरेटरको लाइसेन्स परीक्षा हुँदै

  • Technology Khabar | २१ फाल्गुन २०७९, आईतवार
एमेच्योर रेडियो कन्ट्रोल अपरेटरको लाइसेन्स परीक्षा हुँदै
File Photo

काठमाडौं ।

सरकारले एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक लाइसेन्सको परीक्षा संचालन गर्ने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक लाइसेन्सको लिखित/प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको छ। यस अन्तर्गत २०८० बैशाख ९ गते शनिबार लिखित परीक्षा सञ्चालन गर्ने उल्लेख छ।

उक्त एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक लाइसेन्सको लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले मिति २०७९ चैत २१ गतेभित्र उक्त नियमावलीको अनुसूची-१ (घ) बमोजिम दरखास्त भरी परीक्षा दस्तुर रु.४००/- बुझाएको नगदी रसिद, २ प्रति अटो साइजको फोटो र एक प्रति नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी यस मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन तथा विश्लेषण शाखामा पेस गर्न भनिएको छ।

मन्त्रालयकाअनुसार यस्तो परीक्षामा सहभागी हुन १६ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ भने नेपाली र अङ्ग्रेजी दुवै भाषामा राम्रो बोल्न र लेख्न सक्ने तथा इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन विषयमा सामान्य ज्ञान भएको व्यक्ति हुनुपर्नेछ।

उक्त परीक्षाको दरखास्त फाराम तथा पाठ्यक्रम यस मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।

लिखित परीक्षा केन्द्र, समय र प्रवेश पत्र वितरण तथा प्रयोगात्मक परीक्षाको मिति पछि तोकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...