Technology Khabar २० फाल्गुन २०७९, शनिबार
काठमाडौं ।
विद्युतीय पोलमा अव्यवस्थित रूपमा टाँगेका केबल तथा इन्टरनेटका तारले चन्द्रपुर नगरपालिकामा समस्या भएको छ।
इन्टरनेट र टेलिभिजन केबल सञ्चालकले अव्यवस्थित ढङ्गबाट पोलमा तार विस्तार गर्दा नगरको सौन्दर्य प्रभावित बनेको छ। लत्रिएका तारले बटुवा तथा सवारीसाधनलाई समस्या पारेको छ। पोलमै गुजुल्टिएका तारले सुन्दरतामा ह्रास ल्याएको छ भने आगलागीको जोखिमसमेत बढाएको छ।
सञ्चारसेवा प्रदायक संस्थाले विद्युत प्राधिकरणलाई वार्षिक प्रति बक्स छ सय रुपैयाँ शुल्क बुझाउने गरेको विद्युत् प्रधिकरण शाखा कार्यालय चन्द्रनिगाहपुरमा अभिलेख छ। शुल्क तिरेपनि प्राधिकरणले तार सही तरिकाबाट टाँगेको छ वा छैन नियमन नगर्दा जोखिम बढेको चन्द्रपुर–४ का समाजसेवी भरत आचार्यको आरोप छ।
चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष निलहरि कोइरालाले पोलमा झुन्ड्याइएका तार लत्रिएर र आपसमा रगडिँदा आगालागीको जोखिम उच्च रहेको बताए। उनले भने, “भुइँमै लत्रिएका तारले गर्दा बटुवादेखि सवारीसाधनसमेतले दुःख पाएका छन्। अघिल्लो साता विद्युत् पोलमा आगो लाग्दा नजिकका मानिस डराएर भागेका थिए। नेटवर्क कम्युनिकेसनले टाँगेका तार खुकुलो भई हल्लिएर विद्युतको नाङ्गो तारमा ठोकिएको कारण आगो लागेको थियो।”
यस्तै दुई महिनाअघि नगरपालिकाको मुख्य चोकको पोलमा आगलागी हुँदा आगो निभाउन बारुणयन्त्र कै प्रयोग गर्नुपर्यो। नेटवर्क कम्पनीले विद्युतीय पोल हुँदै घरघरमा विस्तार गरेको तार भुइँमा लत्रिँदासमेत बेवास्ता गरेको नगर उपभोक्ता समिति मञ्चका अध्यक्ष टीका घिमिरेको आरोप छ।
प्राधिकरण शाखा चन्द्रनिगाहपुरका प्रमुख धिरेन्द्र यादवले नेटवर्क कम्पनीलाई व्यवस्थित रूपमा तार विस्तार गर्न सुझाए पनि वास्ता नगरेको बताए। उनकाअनुसार पोलमा झुन्ड्याइएका तार नतन्काइएका कारण समस्या बढेको हो। यस सम्बन्धमा नेटवर्क कम्पनीसँग छलफल गरी समस्या समाधान गरिने छ।
नगरपालिकाका प्रमुख सञ्जय काफ्ले भन्छन्, “विद्युतीय पोलमा झुन्ड्याइएका तार असरल्ल हुँदा नगरको सुन्दरता बिगारेको छ। आगलागीको जोखिम पनि उच्च रहेको छ। यस सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई यथाशीघ्र समस्या समाधान गरिने छ।”
जिल्लाको सदरमुकाम गौर, गरुडा, शिवनगर, कटहरियालगायतका बजारमा समेत यही समस्या रहेको बताइएको छ। गोरखापत्रबाट
प्रकाशित: २० फाल्गुन २०७९, शनिबार