नेपाल टेलिकमले भन्यो- पूर्वाधार निर्माण, बिस्तार र मर्मत गर्दा आफ्नो सेवामा असर पर्यो

  • Technology Khabar | १८ फाल्गुन २०७९, बिहीबार
नेपाल टेलिकमले भन्यो- पूर्वाधार निर्माण, बिस्तार र मर्मत गर्दा आफ्नो सेवामा असर पर्यो
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले सडक, खानेपानी, ढल, विद्युतलगायतका पूर्वाधार निर्माण, विस्तार, मर्मत गर्दा आफ्नो सेवामा असर परेको बताएको छ।

टेलिकमले आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्नको लागि अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको भन्दै त्यस्ता कार्यले संरचनामा क्षति पुगेको गुनासो समेत गरेको छ।

यसअघि काठमाडौं उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हातिगौंडा, खुशिबु, तीनकुने ( सुविधानगर ), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहकहरुले केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको समेत जानकारी दिएको छ।

टेलिकमले बिहिबार सामाजिक संजालमार्फत सरोकारबालालाई अनुरोध गर्दै त्यस्ता कार्यहरु गर्दा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने बताएको छ।

कम्पनीले सूचनामा भनेको छ, ‘सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षती पुग्ने गरेको छ। यसले गर्दा हजारौ ग्राहकहरु वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ।’

कम्पनी सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर रहेको भन्दै दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिन समेत अनुरोध गरेको छ।

‘संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत कार्य अघि बढाउने गरिएको छ। यस क्रममा क्षतिको प्रकृति अनुसार पुनः सेवा सुचारु गर्न केही समय लाग्न सक्ने सम्भावना पनि रहन्छ,’ कम्पनीले भनेको छ।

विविध कारणबाट ग्राहकवर्गले निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाप्रति कम्पनीले क्षमा समेत मागेको छ।

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार