
काठमाडौं ।
ललितपुर महानगरपालिकाले नगरभित्र अव्यवस्थित रहेका इन्टरनेट तथा केबुलको तार व्यवस्थापन गर्न शुरु गरेको छ। यसक्रममा एक स्थानमा तार काटिएपछि केहि समय इन्टरनेट सेवा समेत बन्द भएको बताईएको छ।
महानगरपालिकाले बिहिबारदेखि शहरी क्षेत्रमा तार तथा पोल व्यवस्थापन गर्न शुरु गरेको हो। उक्त क्रममा ललितपुर महानगरपालिले अशोक बिहार क्षेत्रमा तार व्यवस्थापन गर्न शुरु गरिएको जानकारी दिएको छ।
तार काटिँदा केहि समय सेवा समेत अवरुद्ध हुन पुगेको बताईएको छ। अशोक बिहारअगाडीको पोलको तार काटिँदा केहि समय उक्त क्षेत्रमा सेवा अवरुद्ध भएको बताईएको हो।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल आईस्पानका अध्यक्ष सुधिर पराजुलीले सहकार्यमा नै तार काँटछाँट गरिएको जानकारी दिए।
“महानगरले हामीसँगको सहकार्यमा नै तार व्यवस्थापन गरिरहेको छ। तर कुनै एक स्थानमा तार धेरै हुँदा व्यवस्थापनमा समस्या आएको हो। कतै इन्टरनेट सेवा बन्द भएको छैन्,” उनले टेक्नोलोजीखबरसँग भने।

महानगरपालिकाले आइस्पानसँग मिलेर आगामी १० दिनसम्म नगरभित्रका सबै तारहरु व्यवस्थापन गर्ने बताईएको छ।
यसअघि ललितपुर महानगरपालिकाले नगर भित्र इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्धारा राखिएका तारहरु व्यवस्थित गर्न भनेको थियो।
महानगरपालिकाले अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको भन्दै त्यसलाई तत्काल हटाउन भनेको थियो।
महानगरपालिकाले अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरु हटाउनका लागि ७ दिनको समय दिएको थियो।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार