
काठमाडौं ।
सामाजिक सञ्जालमार्फत नाबालिकालाई तनाव दिने साथै चरित्र हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ४ का २७ वर्षीय मुगाधन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत एक बालिकाको तस्बिरसँग अन्य अश्लील तस्विर जोडेर हैरानी दिएको आरोप छ। फेसबुक म्यासेन्जरमार्फत बालिकाको तस्विरसँग अश्लील तस्बिर जोडी पठाएर श्रेष्ठले बालिकालाई हैरानी दिएको उजुरी परेको साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिएका छन् ।
श्रेष्ठलाई जिल्ला प्रहरो कार्यालय ओखलढुगाको सहयोगमा साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी काठमाडौँ लगेर अनुसन्धान गरिरहेको छ।
श्रेष्ठ उपर विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नाबालिकाका अभिभावकले साइबर ब्युरोमा अनुसन्धान गरी कारबाहीको माग गर्दै निवेदन दर्ता गराएपछि श्रेष्ठलाई पक्राउ गरिएको हो ।
प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार