
काठमाडौं ।
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र इन्टरनेटका तार व्यवस्थापन गर्न शुरु गरेको छ। विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियान अन्तर्गत तार व्यवस्थापनलाई तीव्रता दिइएको हो।
महानगरपालिकाको निर्देशनपछि केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी आफैँ तारको व्यवस्थापनमा जुटेका छन्। गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो। तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो।
यसका साथै महानगरले सार्वजनिक सूचना नैजारी गरेर तार व्यवस्थापन गर्न भनेको थियो। उक्त सूचनामा तार व्यवस्थापन नभएमा महानगरले तार काटिदिने चेतावनी दिईएको थियो।
विभिन्न चरणका बैठकको निर्णयअनुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए। म्याक्स, सुविसु, वर्ल्डलिङ्क, भायनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन्।
चैत मसान्तभित्र महानगरभित्रका सबै तार व्यवस्थापन गरिसक्ने कोइरालाले जानकारी दिए।
प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार