धनगढीमा क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला सुरु

  • Technology Khabar | १७ फाल्गुन २०७९, बुधबार
धनगढीमा क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला सुरु

काठमाडौं ।

कैलालीको धनगढीमा क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला मङ्गलबारदेखि सुरु भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कैलालीको आयोजनामा सूचना प्रविधि मेला सुरु भएको हो। मेलाको सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले उद्घाटन गरे।

सो क्रममा उनले सूचना प्रविधि मेलाले राष्ट्र निर्माण र समाज सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। ‘जमाना अनुसारको टेक्नोलोजीको विकास हुनु पर्दछ’, उनले भने,‘यो मेलाले जे उद्देश्य लिएको छ, त्यो पूरा होस भन्ने म कामना गर्दछु ।’ सूचना प्रविधि मेलाबाट युवापुस्तासहित सर्वसाधारण सबै लाभान्वित हुने प्रदेश प्रमुख जोशीको भनाइ थियो।

यसैगरी, उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिमलाई टेक्नोलोजीको हब बनाउन सकिने विषयमा प्रदेश सरकारले अध्ययन गर्न खोजिरहेको बताए।

नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले क्यान कैलालीले सूचना प्रविधि मेला आयोजना गरेको बताईएको छ। मेलामा सूचना प्रविधि, कम्प्युटर, इन्टरनेट लगायतसँग सम्बन्धित ७२ वटा स्टल रहेको क्यान कैलालीका अध्यक्ष यज्ञराज ओझाले जानकारी दिए। ‘व्यापार, व्यवसाय प्रवर्द्धन पनि यो मेलाको उद्देश्य हो’, उनले भने,‘यहाँ आएर सर्वसाधारणले नयाँ नयाँ सूचना प्रविधिको बारेमा जानकारी पाउन सक्नेछन् ।’

मेला अवधिभरि कम्प्युटर, ल्यापटप लगायतका सामग्री अफरसहित छुटमा बिक्री हुने आयोजकले जानकारी दिएको छ। फागुन २० गतेसम्म मेला आयोजना हुनेछ। गोरखापत्रबाट

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार