उज्यालो सहर भरतपुरको दोस्रो चरणको काम सुरु हुँदै

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
उज्यालो सहर भरतपुरको दोस्रो चरणको काम सुरु हुँदै
सांकेतिक तस्विर

काठमाडौं ।

भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ। पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न बोलपत्र आह्वान गरिएको छ। महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबर्द्धन आयोजनाको सहकार्यमा महानगरमा उक्त काम सुरु गरिएको हो।

पहिलो चरणको काम अन्तिममा पुगेलगत्तै दोस्रो चरणको कामको थालिएको छ। पहिलो चरणमा महानगरपालिकाको १० प्रतिशत लागत साझेदारी थियो भने दोस्रो चरणमा ६० प्रतिशत महानगरपालिका र आयोजनाको ४० प्रतिशत साझेदारीमा काम गर्न लागिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो चरणको काम यही वैशाखको पहिलो सातासम्ममा सकिनेछ। दोस्रो चरणको काम निर्माण व्यवसायीसँग सम्झौता भएको एक वर्षमा सम्पन्न हुनेछ। दोस्रो चरणमा विभिन्न ठाउँमा आठ वटा हाइमास्ट र ६० वटा मिनिमास्टसहितको बत्ती राखिँदैछ। पहिलो चरणमा सडक क्षेत्रमा एक हजार नौ सय ३३ वटा बत्ती जडान गरिएको छ।

महानगर प्रमुख दाहालकाअनुसार पहिलो चरणमा मूल्य अभिवृद्धि करसहित  रु.११ करोड ४९ लाख ८९ हजार तीन सयमा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल/सूर्योदय ऊर्जा/टपशन जेभीले काम गरिरहेको छ। दोस्रो चरणमा रु.२६ करोड ५० लाखको बोलपत्र आह्वान गरिएको छ।

उनले  भनिन्, “पहिलोको भन्दा धेरै क्षेत्रलाई हामी उज्यालो बनाउँदैछौँ।” पहिलो चरणमा महानगरका सहरी क्षेत्रमा बत्ती जडान गरिएको छ। दोस्रो चरणअन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकिलो सडकलाई प्राथमिकता दिएर बत्ती जडान गरिँदैछ। महानगरप्रमुख दाहालले महानगरलाई आउँदो पाँच वर्षभित्र दक्षिण एसियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्देश्यअनुरूप उज्यालो सहर बनाउन लागिएको बताईन्।

यस क्रममा स्मार्ट सडक बत्ती, विभिन्न स्थानमा हाई–मास्ट तथा मिनी–मास्ट बत्ती जडान गरिँदै छ । सन् २०२४ लाई भरतपुर महानगरले भ्रमण वर्षको रूपमा मनाउन लागेको भन्दै उनले मुख्य सडकमा यात्रा गर्दा आम सर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाइ सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ’उज्यालो सहर–भरतपुर’ अभियान तीव्र पारिएको बताईन्।

उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती हो भन्ने कुरालाई दृष्टिगत गर्दै यस ‘उज्यालो सहर–भरतपुर’ अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरे। यस कार्यक्रमअन्तर्गत पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मतसम्भार  गर्ने उनले जानकारी दिए। अन्य ठाउँमा स्मार्ट बत्ती जडान क्रमशः गर्दै लगिने उपप्रमुख अधिकारीको भनाइ थियो।

आयोजना प्रमुख प्रमोद रिजालले महानगरपालिकाले आफ्नो क्षेत्रलाई उज्यालो बनाउन गरेको प्रस्तावअनुसार प्राधिकरणले सहकार्य गरेर काम गरिरहेको बताए। पहिलो चरणको काम ८५ प्रतिशत सकिएको भन्दै उनले बोलपत्रको काम सुरु भएकाले आउँदो वर्षभित्रमा महानगरका धेरै ठाउँमा स्मार्ट बत्ती पुग्ने जानकारी दिए। महानगरमा विकास निर्माणका काम तीव्र गतिमा भइरहेका छन्। विकासका हिसाबले धेरै काम भएको पालिकामा भरतपुरलाई चिन्ने गरिन्छ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...