बेलिकन क्रसिङ र स्मार्ट लाइट परीक्षणको नतिजा सकारात्मक

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
बेलिकन क्रसिङ र स्मार्ट लाइट परीक्षणको नतिजा सकारात्मक

काठमाडौं ।

पैदल यात्रीको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले बेलिकन क्रसिङ् परीक्षण गरेको छ। केन्द्रीय कार्यालय परिसर बागदरबारमा शुक्रबार यसको परीक्षण गरिएको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठ, नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरु परीक्षण अवलोकनमा सहभागी भएका थिए।

परीक्षणको नतिजा सकारात्मक देखिएको अधिकारीले अवलोकनपछि प्रतिक्रिया दिए। महानगरपालिकाले सडक सुरक्षा, सार्वजनिक यातायात प्रणालीको सुधार, रात्रीकालीन आवागमन सहजीकरण तथा पैदलयात्री मैत्री सडक निर्माणका लागि विभिन्न अध्ययन र प्रयोगहरु गरिरहेको छ । प्राप्त नतिजाका आधारमा उत्कृष्ट प्रणाली जडान गर्ने योजनाअनुरुप अध्ययन र प्रयोग भइरहेका हुन् ।

बेलिकन क्रसिङ सवारी गुड्ने सडक किनारामा राखिन्छ। पैदल यात्रीले सडक पार गर्नुपर्यो भने प्रणालीमा राखिएको स्वीच थिचेपछि सवारी गुड्ने सडकतर्फ रातो बत्ती र जेव्रा क्रसिङमा हरियो बत्ती बल्छ। महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार बालबालिका, अशक्त तथा आपतकालीन अवस्थामा सडक पार गर्नुपर्ने अवस्थाको सुविधाका लागि यो प्रणाली जडान गर्ने अन्तरराष्ट्रिय अभ्यास छ।

क्रसिङ्सँगै स्मार्ट लाइटको पनि परीक्षण भएको छ। यो जेव्रा क्रसिङ् भएको ठाउँमा सडकबत्तीमा जडान हुने प्रणाली हो । प्रणाली जडान गरिएको पोलमा संकेतसहितको बोर्ड हुन्छ। यो बोर्डतर्फ हात हल्लाएपछि बत्तीको प्रकाश थप चहकिलो हुन्छ। यसबाट पैदल यात्रीलाई सडक पार गर्न सहज हुन्छ। बत्ती चहकिलो बलेपछि सवारी साधनलाई सडकमा पैदल यात्री भएको थाहा पाउन सजिलो हुन्छ। अन्य समयमा सामान्य प्रकाशमा बत्ती बलिरहेको हुन्छ।

‘विकासकर्ताको प्रणाली हेर्यौ। अब यसलाई पैदल यात्रीको प्रयोगका परीक्षण गर्न सहरका २ ठाउँमा नमूना जडान गर्ने योजनामा छौँ,’ श्रेष्ठले भने।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...