
काठमाडौं ।
झापाको कचनकवल गाउँपालिकाले डिजिटल किसान सहायता केन्द्र स्थापना गरेको छ। विभिन्न दातृ निकायको सहयोगमा गाउँपालिकाले कृषि सहायता केन्द्र स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।
स्थानअनुसार जलवायु मैत्री कृषि विस्तार, बाली तथा पशु सम्बन्धी समस्या समाधानका लागि सहयोग, स्वचालित स्मार्ट सूचना, विभिन्न कृषि विज्ञहरूसँग छलफल तथा अन्तरक्रियाका लागि यसले सहजीकरण गर्नेछ। यो एक प्रकारले ‘डिजिटिल प्लेट फर्म’ भएकोसमेत जानकारी गराइएको छ।
किसानहरूले सहायता केन्द्रमार्फत ‘जिओ कृषि’ एप डाउनलोड गरेर कृषि सम्बन्धीका जानकारी लिन सक्ने भट्टराईले बताए। किसानले मौसमको विषयमा जानकारीदेखि हाटबजारको सागसब्जी तथा फलफूलको मूल्यसम्म जानकारी लिन सक्नेछन्। यसका साथै अनलाइन तथा अफलाइन माध्यमबाट कृषि सम्बन्धी कुनैपनि समस्याहरू किसानले राखेमा समाधान पनि गर्न सक्नेछन्।
व्यापारिक र साना कृषकहरूले सामना गर्ने चुनौतीहरू समाधान गर्न निर्मित डिजिटल कृषि प्लेटफर्मको माध्यमबाट किसानहरू सूचना केन्द्रमा जोडिनेछन्। किसानलाई मोबाइल एपमार्फत धेरै विषयमा जानकारी दिन सकिने भएकाले यसले आधुनिक रूपमा खेती गर्न सक्ने किसानहरूका लागि धेरै नै लाभान्वित हुनेसमेत बताइएको छ।
यसअघि यसै साता झापाकै कन्काई नगरपालिकामा पनि यस प्रकारको सूचना केन्द्र स्थापना गरिएको छ।
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार