काठमाडौं ।
यस महिनाको सुरुमा वानप्लसले चीनमा स्न्यापड्रागन ८ प्लस जेन १ एसओसी सहितको एस २ प्रस्तुत गरेको थियो। अब कम्पनीले डाइमेन्सिटी ९००० चिप सहितको एस २ संस्करण अनावरण गर्ने अपेक्षा गरिएको छ।
वानप्लसले एस २ डाइमेन्सिटी एडिसनको बारेमा उल्लेख रुपमा खुलासा गरेको छैन्। तर उक्त स्मार्टफोन कस्तो देखिनेछ भनेर भरपर्दो टिपस्टर डिजिटल च्याट स्टेशन (डीसीएस) ले लीक गरेको तस्बिरबाट थाहा पाउन सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
डीसीएसले पोष्ट गरेको तस्बिरमा वानप्लस एस २ डाइमेन्सिटी एडिसन कालो रङ्गमा रहेको देख्न सकिने छ। स्न्यापड्रागन समावेश गरिएको अघिल्लो मोडलको तुलनामा यस नयाँ मोडल भने फ्ल्याटर डिजाइनमा रहेको बताइएको छ। साथै यस नयाँ स्मार्टफोनको ब्याक कभरमा चारओटा सर्कलहरु (गोलो घेरा) रहेको र त्यसमध्यको दुईओटा सर्कलले तीनओटा क्यामराहरुलाई घेरिएको उल्लेख गरिएको छ। साथै स्मार्टफोनको दायाँ–साइड फ्रेममा पावर बटन सहित एक अलर्ट स्लाइडर पनि समावेश गरिएको छ।
वानप्लस एस २ डाइमेन्सिटी एडिसनमा रहेको प्राथमिक क्यामराले स्न्यापड्रागन भेरियन्टमा रहेको ५० एमपी आईएमएक्स८९० सेन्सरको सट्टामा ६४एमपी ओभी ६४ एम सेन्सर प्रयोग गर्ने अफवाहहरू रहेको छ। त्यसैगरी चार्जिङ गति पनि १०० वाटबाट घटाएर ८० वाटमा झारिएको बताइएको छ। तर डाइमेन्सिटी संस्करणको बाँकी स्पेक्सहरु भने स्न्यापड्रागन संस्करणको जस्तै समान रहने अपेक्षा छ।
स्न्यापड्रागन ८ प्लस जेन १ एसओसी सहितको वानप्लस एस २ भारतमा वानप्लस ११आरको रुपमा प्रस्तुत गरिएको थियो। त्यसैगरी डाइमेन्सिटी एडिसनलाई पनि चीन बाहिर अन्य कुनै नामाकरण गरी वा फरक नाममा लन्च गरिने बताईएको छ।
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार