सिफ्ट सकिएसँगै कर्मचारीलाई घर जान कम्प्युटर कम्पनीको सूचना, लक गर्न सफ्टवेयर इन्स्टल !

  • Technology Khabar | १३ फाल्गुन २०७९, शनिबार
सिफ्ट सकिएसँगै कर्मचारीलाई घर जान कम्प्युटर कम्पनीको सूचना, लक गर्न सफ्टवेयर इन्स्टल !

काठमाडौं ।

निजी जागिरको नाम सुन्ने वित्तिकै मानिसले कामको समय तोक्दैन भन्ने अनुमान गर्छन्। तर एउटा आईटी कम्पनी यो भनाईलाई तोड्न चाहेको छ। यो कम्पनी छिमेकी देश भारतको मध्य प्रदेश र इन्दौरको हो। धितोपत्र बजारजस्तै रोजगारीमा उतारचढाव भइरहेका बेला, ठूला कर्पोरेट कर्मचारीहरूलाई थप घण्टा काम गर्ने दबाब रहेको बेला यो कम्पनीले आफ्ना कर्मचारीहरूलाई ओभरटाइम काम नगरुन भन्ने चाहन्छ। यो भारतीय आईटी कम्पनीको नाम सफ्टग्रिड कम्प्युटर्स हो।

एक लिङ्क्डइन पोष्टले दावी गरेअनुसार कम्पनीका कर्मचारीहरूले आफ्नो शिफ्टभन्दा बाहिर काम गर्न सक्दैनन्। यसमा भनिएअनुसार शिफ्ट समाप्त हुने बित्तिकै कर्मचारीहरूको स्क्रिनमा पप-अप देखा पर्दछ, र उनीहरूलाई घर जाने समय भएको जानकारी दिन्छ। यो काममा सफ्टवेयरको सहयोग लिने स्पष्ट छ।

यो दाबी गर्ने लिङ्क्डइन पोष्ट सफ्टग्रिड कम्प्युटर्समा मानव संसाधनको काम गर्ने तान्भी खण्डेलवालद्वारा साझा गरिएको छ। उनको पोस्ट भाइरल भएको छ, र हालसम्म ४ लाख भन्दा बढी लाइकहरू पाएको छ। यस पोस्टमा तान्भीले आफ्नो कम्पनीले काम र जीवनबीच सन्तुलन कायम राख्न सहयोग गर्ने बताएकी छन् । कर्मचारीको कामको समय सकिएपछि कम्पनीको सिस्टम आफैं लक हुन्छ।

तान्भीले लेखेकी छिन् ‘यो कुनै प्रचार वा काल्पनिक पोस्ट होइन ! यस्तो छ हाम्रो कार्यालयको वास्तविकता !!’ उनले पोस्टमा एउटा तस्विर पनि सेयर गरेकी छिन् । यसमा एउटा डेस्कटप देखिन्छ, जसको डिस्प्लेमा कर्मचारीको सिफ्ट टाइम सकिएको सन्देश प्रवाह भइरहेको छ। ‘चेतावनी ! कार्यालय प्रणाली १० मिनेटमा बन्द हुनेछ। कृपया घर जानुहोस्’

तान्भीले पोस्टमा लेखेकी छिन्, ‘यो युगमा हामी लचिलो काम गर्ने घण्टा र रमाइलो वातावरणमा विश्वास गर्छौं।’

एक रिपोर्टका अनुसार सफ्टग्रिड कम्प्युटर्समा ४० जना काम गर्छन्। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै, कम्पनीका सीईओ अजय गोलानीले यो कदम कर्मचारीहरूको लागि राम्रो काम-जीवन सन्तुलन सुनिश्चित गर्नका लागि भएको बताए, जसले गर्दा कर्मचारीहरूले आफ्नो परिवारसँग समय बिताउन सकून्।

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...