
काठमाडौं ।
नेपाल टेलिकमले बारेकोटमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएको छ। बारेकोट गाँउपालिका–८, जन्तेलेकमा फोरजी सेवासहितको टावर सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ। कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले टावर उद्घाटन गरेका छन्।
जन्तेलेकको टावर सञ्चालनमा आउँदा बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका केही वडावासीलाई सञ्चार सम्पर्क गर्न सजिलो भएको छ। अन्य स्थानमा निर्माणाधीन टावर पनि छिटो सम्पन्न गरी सातवटै पालिकामा सञ्चारको पहुँच पुर्याइने बताइन्छ। टेलिफोन टावर सञ्चानलमा आएपछि नलगाड नगरपालिका–५ र ६, बारेकोट गाँउपालिका ७, ८ र ९ का सर्वसाधारणले सञ्चार सुविधा पाएका छन्।
सातवटै पालिकामा फोरजी सेवा उपलब्ध हुनेगरी टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्यसाथ काम थालेको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपेन्द्र अधिकारीले बताए। जिल्लाबाहिर फोन सम्पर्क गर्न घण्टौँ हिँडेर डाँडा र अग्लो रुख चढ्नुपर्ने बाध्यता अन्त्य भएको बारेकोट गाउँपालिका–८ का वडाध्यक्ष योगेन्द्र सिंहले बताए।
जाजरकोटका अधिकांश स्थानमा फोरजी सेवासहितका २० वटा टेलिफोन टावर सञ्चालनमा आएपछि नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्या वृद्धि भएको टेलिकमका कार्यालय प्रमुख अधिकारीले बताए। टावर उद्घाटनक्रममा नेपाल टेलिकमले निःशुल्क मोबाइल सिमकार्ड वितरण गरेको छ। उनका अनुसार सात सय जनालाई नमस्ते मोबाइलको सिमकार्ड वितरण गरिएको थियो। गोरखापत्रबाट
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार